​‘४२औँ अल इन्डिया गभर्नर्स गोल्ड कप’ अक्टोबर ५ देखि

FB_IMG_1789818713181

मुख्यमन्त्री गोलेद्वारा तयारी चुस्त बनाउन निर्देशन

​गान्ताेक: सिक्किमको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘४२ औँ अल इन्डिया गभर्नर्स गोल्ड कप प्रतियोगिता २०२६’ आगामी अक्टोबर ५ (असोज १९) देखि सुरु हुने भएको छ।
​प्रतियोगिताको पूर्वतयारीबारे छलफल गर्न सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले आज मिन्तोकगाङस्थित आफ्नै निवासमा सिक्किम फुटबल सङ्घका कार्यकारिणी समिति तथा खेलकुद विभागका सचिव र निर्देशकसँग उच्चस्तरीय बैठक गर्नुभएको छ।
​बैठकमा मुख्यमन्त्री गोलेले सिक्किममा फुटबलको थप विकासका लागि खेलकुद विभाग र सिक्किम फुटबल सङ्घलाई आपसमा समन्वय र सहकार्य गरेर काम गर्न निर्देशन दिनुभएको छ। विशेष गरी स्थानीय खेलाडीहरूको क्षमता अभिवृद्धि, प्रवर्द्धन र उनीहरूलाई उत्कृष्ट अवसरहरू प्रदान गर्ने विषयमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ।
​सामाजिक सञ्जालमार्फत बैठकको जानकारी दिँदै मुख्यमन्त्री गोलेले भन्नुभएको छ, “गभर्नर्स गोल्ड कप सिक्किमको एउटा प्रतिष्ठित खेलकुद परम्परा हो। म फुटबलको खेल भावना र प्रतिभा प्रदर्शन हुने एक भव्य प्रतियोगिताको प्रतीक्षामा छु।”
​मुख्यमन्त्री गोलेले प्रतियोगितालाई सफल र स्मरणीय बनाउनका लागि आयोजक सिक्किम फुटबल सङ्घ, सहभागी टोली, खेलाडी, पदाधिकारी तथा सम्पूर्ण फुटबल प्रेमीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।

About Author

Advertisement