गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले ‘मलेसिया अल्ट्रा ट्रेल बाय युटीएमबी’मा ऐतिहासिक सफलता हासिल गर्नुभएका धावक वीरबहादुर राईलाई बधाई तथा सम्मान व्यक्त गर्नुभएको छ।
नाम्ची जिल्लाको सालघारी निवासी वीरबहादुर राईसँग मुख्यमन्त्री गोलेले आज आफ्नै सरकारी निवासमा भेटघाट गर्दै उहाँको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्नुभएको हो।
वीरबहादुरले मलेसियामा आयोजित प्रतियोगिताको २५के (एमवाई२५) विधामा २ घण्टा २५ मिनेटको उत्कृष्ट समय निकाल्दै स्वर्ण जित्नुभएको थियो। यस सफलतासँगै उहाँ ‘युटीएमबी सिरिज’ को २५के विधामा पोडियम (उत्कृष्ट ३ स्थान) हासिल गर्ने पहिलो भारतीय धावक बन्नुभएको छ।
सामाजिक सञ्जालमार्फत भेटघाटका तस्बिरहरू शेयर गर्दै मुख्यमन्त्री गोलेले भन्नुभएको छ, “वीरबहादुर राईले आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत सम्पूर्ण सिक्किमको नाम उच्च राख्नुभएको छ। उहाँको यो ऐतिहासिक उपलब्धि र व्यावसायिक धावकका रूपमा देखाउनुभएको समर्पणले सिक्किमका धेरै युवा धावकहरूलाई उत्प्रेरित गर्नेछ।”
मुख्यमन्त्री गोलेले उहाँको आगामी व्यावसायिक खेल यात्राको सफलताका लागि हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ।





