गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले ‘नेसनल ह्यान्डलुम अवार्ड २०२५’ बाट सम्मानित हुनुभएकी शीतल तामाङलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री गोलेले आज आफ्नै सरकारी निवासमा श्रीमती तामाङसँग भेटघाट गर्दै उहाँले हातपारेको उल्लेखनीय सफलताका लागि हार्दिक बधाई ज्ञापन गर्नुभएको हो।
सामाजिक सञ्जालमार्फत भेटघाटका तस्बिरहरू सार्वजनिक गर्दै मुख्यमन्त्री गोलेले सिक्किमको समृद्ध हातबुना (ह्यान्डलुम) सम्पदाको संरक्षण र प्रवर्द्धनमा शीतल तामाङले पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै यो प्रतिष्ठित राष्ट्रिय पुरस्कार प्रदान गरिएको बताउनुभएको छ।
”उहाँको यो उपलब्धि सम्पूर्ण सिक्किमका लागि गर्वको विषय हो,” मुख्यमन्त्री गोलेले भन्नुभएको छ, “परम्परागत शिल्प र सांस्कृतिक विरासतलाई निरन्तर जोगाउँदै आएका हाम्रा बुनाइकर्मी तथा कारिगरहरूका लागि उहाँको सफलता ठूलो प्रेरणाको स्रोत बनेको छ।”
मुख्यमन्त्री गोलेले श्रीमती तामाङको उज्ज्वल भविष्य र आगामी कार्यको सफलताको कामना गर्दै उहाँको लगनशीलताले सिक्किमको हातबुना परम्परालाई अझ अघि बढाउन धेरैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ।





