७६२ करोडको लागतमा बनेको सिक्किमको पहिलो सरकारी मेडिकल कलेजमा पठनपाठन सुरु
गान्तोक: सिक्किमको पहिलो सरकारी मेडिकल कलेज, ‘हेलेन लेप्चा राज्य सरकार मेडिकल कलेज’ (एचएलएसजीएमसी) को पहिलो ब्याचका एमबीबीएस विद्यार्थीहरूका लागि आयोजित ‘व्हाइट कोट समारोह’ मनन केन्द्रमा सम्पन्न भएको छ। राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थितिमा आयोजित उक्त समारोहसँगै कलेजको शैक्षिक यात्रा औपचारिक रूपमा सुरु भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल ओमप्रकाश माथुरले यो दिन सिक्किम र यहाँका विद्यार्थीहरूका लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताए। उनले विद्यार्थीहरूलाई अनुशासित र समर्पित भई अध्ययन गर्न र समाज सेवाको भावनालाई केन्द्रमा राख्न आग्रह गरे।
समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीले कलेजको भर्चुअल उद्घाटन गरेको स्मरण गर्दै सिक्किमका विद्यार्थीहरूले अब आफ्नै माटोमा चिकित्सा शिक्षा हासिल गर्न पाउने खुसी व्यक्त गरे।

सिट बाँडफाँड र वित्तीय सहायता:
सिट संरचना: राष्ट्रिय चिकित्सा आयोग (एनएमसी) बाट स्वीकृत १०० सिटमध्ये ५० वटा नि:शुल्क सिट, ३० वटा पूर्ण-भुक्तानी (वार्षिक रू. ५ लाख), १५ वटा केन्द्रीय पुल र ५ वटा व्यवस्थापन कोटाका रूपमा छुट्याइएको छ। हाल पहिलो ब्याचमा ८० जना विद्यार्थी भर्ना भइसकेका छन्।
थप सिट व्यवस्था: सिक्किम मणिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एसएमआईएमएस) मा सिक्किमका विद्यार्थीहरूका लागि ३० वटा अतिरिक्त सिट (२० सहुलियतपूर्ण र १० पूर्ण-भुक्तानी) सुरक्षित गरिएको छ। योसँगै यस वर्ष सिक्किमका कूल ११० जना विद्यार्थीले राज्यभित्रै एमबीबीएस पढ्ने अवसर पाएका छन्।
सरकारी सहयोग: आर्थिक रूपमा विपन्न १९ जना विद्यार्थीलाई राज्य बाहिर एमबीबीएस पढ्न पूर्ण छात्रवृत्ति र एचएलएसजीएमसीमा अध्ययनरत विद्यार्थीहरूका लागि ‘मुख्यमन्त्री शिक्षा सहायता योजना’ मार्फत छात्रावास खर्च उपलब्ध गराइने भएको छ।

कुल लागत: कलेज निर्माणमा कुल ७६२.२४ करोड रूपैयाँ लगानी भएको छ; जसमा भारत सरकारको स्वास्थ्य मन्त्रालय, पीएम-डेभआइन र राज्य योजनाको संयुक्त बजेट संलग्न छ।
कार्यक्रममा स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जीटी ढुङ्गेल, मुख्य सचिव आर टेलङ र कलेजका डिन डा. बिक्रम खड्काले विद्यार्थीहरूलाई चिकित्सकीय आचारसंहिता, करुणा र जिम्मेवारीका साथ पेसामा लाग्न प्रेरणा दिए।
समारोहका क्रममा डिन डा. खड्काले ८० जना विद्यार्थीलाई शपथ ग्रहण गराएका थिए। सोही अवसरमा महान स्वतन्त्रता सेनानी हेलेन लेप्चाको परिवारलाई सम्मान गरिनुका साथै कलेजको आधिकारिक लोगो र वेबसाइटको लोकार्पण गरिएको थियो। साथै, लगातार धेरै कार्डियाक इलेक्ट्रोफिजियोलोजी प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेकोमा एसटीएनएम अस्पतालको कार्डियोलोजी विभागलाई ‘एसिया बुक अफ रेकर्ड्स’ को प्रमाणपत्र प्रदान गरी सम्मान गरियो।





