हेलेन लेप्चा मेडिकल कलेजका ८० विद्यार्थीलाई ‘व्हाइट कोट’

FB_IMG_1789800802378

७६२ करोडको लागतमा बनेको सिक्किमको पहिलो सरकारी मेडिकल कलेजमा पठनपाठन सुरु

​गान्तोक: सिक्किमको पहिलो सरकारी मेडिकल कलेज, ‘हेलेन लेप्चा राज्य सरकार मेडिकल कलेज’ (एचएलएसजीएमसी) को पहिलो ब्याचका एमबीबीएस विद्यार्थीहरूका लागि आयोजित ‘व्हाइट कोट समारोह’ मनन केन्द्रमा सम्पन्न भएको छ। राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थितिमा आयोजित उक्त समारोहसँगै कलेजको शैक्षिक यात्रा औपचारिक रूपमा सुरु भएको छ।
​कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल ओमप्रकाश माथुरले यो दिन सिक्किम र यहाँका विद्यार्थीहरूका लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताए। उनले विद्यार्थीहरूलाई अनुशासित र समर्पित भई अध्ययन गर्न र समाज सेवाको भावनालाई केन्द्रमा राख्न आग्रह गरे।
​समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीले कलेजको भर्चुअल उद्घाटन गरेको स्मरण गर्दै सिक्किमका विद्यार्थीहरूले अब आफ्नै माटोमा चिकित्सा शिक्षा हासिल गर्न पाउने खुसी व्यक्त गरे।

​सिट बाँडफाँड र वित्तीय सहायता:
​सिट संरचना: राष्ट्रिय चिकित्सा आयोग (एनएमसी) बाट स्वीकृत १०० सिटमध्ये ५० वटा नि:शुल्क सिट, ३० वटा पूर्ण-भुक्तानी (वार्षिक रू. ५ लाख), १५ वटा केन्द्रीय पुल र ५ वटा व्यवस्थापन कोटाका रूपमा छुट्याइएको छ। हाल पहिलो ब्याचमा ८० जना विद्यार्थी भर्ना भइसकेका छन्।
​थप सिट व्यवस्था: सिक्किम मणिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एसएमआईएमएस) मा सिक्किमका विद्यार्थीहरूका लागि ३० वटा अतिरिक्त सिट (२० सहुलियतपूर्ण र १० पूर्ण-भुक्तानी) सुरक्षित गरिएको छ। योसँगै यस वर्ष सिक्किमका कूल ११० जना विद्यार्थीले राज्यभित्रै एमबीबीएस पढ्ने अवसर पाएका छन्।
​सरकारी सहयोग: आर्थिक रूपमा विपन्न १९ जना विद्यार्थीलाई राज्य बाहिर एमबीबीएस पढ्न पूर्ण छात्रवृत्ति र एचएलएसजीएमसीमा अध्ययनरत विद्यार्थीहरूका लागि ‘मुख्यमन्त्री शिक्षा सहायता योजना’ मार्फत छात्रावास खर्च उपलब्ध गराइने भएको छ।

कुल लागत: कलेज निर्माणमा कुल ७६२.२४ करोड रूपैयाँ लगानी भएको छ; जसमा भारत सरकारको स्वास्थ्य मन्त्रालय, पीएम-डेभआइन र राज्य योजनाको संयुक्त बजेट संलग्न छ।
​कार्यक्रममा स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जीटी ढुङ्गेल, मुख्य सचिव आर टेलङ र कलेजका डिन डा. बिक्रम खड्काले विद्यार्थीहरूलाई चिकित्सकीय आचारसंहिता, करुणा र जिम्मेवारीका साथ पेसामा लाग्न प्रेरणा दिए।
​समारोहका क्रममा डिन डा. खड्काले ८० जना विद्यार्थीलाई शपथ ग्रहण गराएका थिए। सोही अवसरमा महान स्वतन्त्रता सेनानी हेलेन लेप्चाको परिवारलाई सम्मान गरिनुका साथै कलेजको आधिकारिक लोगो र वेबसाइटको लोकार्पण गरिएको थियो। साथै, लगातार धेरै कार्डियाक इलेक्ट्रोफिजियोलोजी प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेकोमा एसटीएनएम अस्पतालको कार्डियोलोजी विभागलाई ‘एसिया बुक अफ रेकर्ड्स’ को प्रमाणपत्र प्रदान गरी सम्मान गरियो।

About Author

Advertisement