६९औँ राष्ट्रमण्डल संसदीय सम्मेलनमा सिक्किम विधानसभाको सहभागिता

FB_IMG_1789733925665

दक्षिण अफ्रिकामा सिक्किमका सभामुख र उपसभामुखद्वारा प्रतिनिधित्व

​गान्ताेक: दक्षिण अफ्रिकाको केपटाउनस्थित केपटाउन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (सीटीआइसीसी) मा आयोजित ६९ औँ राष्ट्रमण्डल संसदीय सम्मेलन (सीपीसी) को साधारण सभामा सिक्किम विधानसभाका सभामुख मिङ्मा नोर्बु शेर्पा र उपसभामुख राजकुमारी थापाले भाग लिएका छन्। सिक्किम विधानसभाका वरिष्ठ अधिकारीहरूसहितको प्रतिनिधिमण्डलले १७ सेप्टेम्बरका दिन उक्त साधारण सभामा सहभागिता जनाएको हो।
​दक्षिण अफ्रिकाको नेसनल काउन्सिल अफ प्रोभिन्सकी अध्यक्ष एवं सिपिए अध्यक्ष माननीय रेफिल्वे मत्वेनी-त्सिपानेको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो। सम्मेलनमा १०० भन्दा बढी सिपिए शाखाहरू र ५० भन्दा बढी साना शाखाहरूका संसदीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
​साधारण सभाको मुख्य आकर्षण “राष्ट्रमण्डलका लागि नयाँ नेतृत्वको अवसर: लोकतन्त्र र अन्तर्राष्ट्रिय कानुनलाई सुदृढ पार्न संसदीय कदम” विषयक बहसरहेको थियो। भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राज्य सभाका उपसभापति हरिवंशले संसदीय नेतृत्व, लोकतन्त्र र अन्तर्राष्ट्रिय सहयोगका विषयमा आफ्ना महत्त्वपूर्ण विचारहरू प्रस्तुत गर्नुभएको थियो।
​बैठकमा सिपिएको नयाँ कानुनी संरचना, बेलायती संसद्द्वारा पारित ऐन २०२५, वार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदन, बजेट तथा हरित गदा पुरस्कार (ग्रीन मेस अवार्ड) लगायतका विषयमा छलफल एवं स्वीकृति प्रदान गरिएको थियो। आगामी ७० औँ राष्ट्रमण्डल संसदीय सम्मेलन सन् २०२७ मा क्यानडाले आयोजना गर्ने घोषणा पनि गरिएको छ।
​यसअघि १६ सेप्टेम्बरमा सिक्किमको प्रतिनिधिमण्डलले “जलवायु अनुकूलन र लचिलोपन प्रवर्द्धनमा संसदीय नेतृत्व”, “संसद्‌मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग”, “मानव अधिकारको संरक्षण र शान्ति प्रवर्द्धन” तथा “विधायनपछिको छानबिन” विषयक महत्त्वपूर्ण कार्यशालाहरूमा समेत सहभागिता जनाएको सिक्किम विधानसभा सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

Advertisement