नेपालका बाढी पीडितहरूप्रति विशेष प्रार्थना समर्पित
पेलिङ: शान्ति, करुणा तथा सम्पूर्ण प्राणीहरूको कल्याणको कामना गर्दै चौथो वार्षिक ‘मणि डुङ्द्रुप छेनमो २०२६’ शनिवारदेखि गेजिङ जिल्लाको पेलिङस्थित चेरेजी सिङ्खाम रिवो पोटालामा विधिवत् रूपमा शुरू भएको छ।
सिक्किम सरकारको धर्म विभागद्वारा मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्व एवम् धर्ममन्त्री सोनाम लामाको मार्गदर्शनमा आयोजित यो सात दिने धार्मिक अनुष्ठान आगामी १८ सेप्टेम्बरका दिन सम्पन्न हुनेछ।
अनुष्ठानको उद्घाटन कार्यक्रममा धर्म विभागकी सचिव किन्चो डोमा लेप्चा, गेजिङका जिल्लापाल तेन्जिङ डी. डेनजोङ्पा, वरिष्ठ पुलिस उपरीक्षक पारु रुचललगायत प्रशासनिक अधिकारीहरू, कर्मचारीहरू तथा ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा क्याब्जे लाचुङ रिन्पोछे र युक्समका खेन्त्से टुल्कुको आध्यात्मिक मार्गदर्शनमा सिक्किमका विभिन्न गुम्बाबाट आएका भिक्षुहरूले मणि मन्त्रलगायत पवित्र प्रार्थनाको सामूहिक पाठ गरिरहेका छन्।

यस वर्षको विशेष प्रार्थना हालै नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चिर शान्ति, शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भनी समर्पित गरिएको छ। साथै प्रभावित क्षेत्रका समुदायको सुरक्षा र शीघ्र पुनःस्थापनाका लागि पनि प्रार्थना गरिएको छ। धर्म विभागका अनुसार यस धार्मिक अनुष्ठानले सिक्किमको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै शान्ति, करुणा, एकता र सद्भावको भावनालाई अझ सुदृढ बनाउनेछ।





