गान्तोक: नागाल्यान्डमा आयोजित दोस्रो मिस्टर नर्थईस्ट बडीबिल्डिङ फिजिक्स च्याम्पियनसिप-मा सिक्किमका आशिष लिम्बूले ‘चैम्पियन अफ च्याम्पियन्स’-को उपाधि जितेका छन्। उनले क्षेत्रीय शारीरिक सुगठन मञ्चमा आफ्नो उत्कृष्ट प्रदर्शनद्वारा सिक्किम राज्यको नाम उच्च पारेका छन्।
यस च्याम्पियनसिपमा सिक्किमकै ललित राईले पुरुष बडीबिल्डिङ ८० किलोभन्दा माथिको विधामा रजत पदक हासिल गरेका छन्।
यसैगरी, महिला मोडल फिजिक्स विधामा अनिता क्षेत्रीले रजत पदक जितिन् भने जुमा बसुमतारीले कांस्य पदक कब्जा गरिन्।
अर्कोतर्फ, विनय रसाइलीले ६५ किलो र बुद्ध तामाङले ६० किलो पुरुष बडीबिल्डिङ विधाको शीर्ष १०मा आफ्नो ठाउँ बनाउन सफल भए।
नागाल्यान्डमा सम्पन्न यस प्रतियोगितामा बडीबिल्डिङ एसोसिएसन अफ सिक्किमका अध्यक्ष पेमा डब्लु भुटिया, प्रशिक्षक नोर्बु छिरिङ भुटिया र अन्य अधिकारीहरूको नेतृत्वमा सिक्किमे टोली सहभागी भएको थियो।





