वरिष्ठ नाट्य कलाकार मरियमित लेप्चालाई ‘मनबहादुर गुरुङ स्मृति सम्मान २०२६’ अर्पण गरिने

469b07e4-35cc-49ae-9bf3-b4346d4539f3

सोनादा (१२ सेप्टेम्बर ): साहित्यकार तथा नाटककार मनबहादुर गुरुङको स्मृतिमा स्थापित मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान, सोनादाले प्रतिवर्ष प्रदान गर्दै आएको ‘मनबहादुर गुरुङ स्मृति सम्मान’ यस वर्ष भारतीय नेपाली नाट्य जगतकी प्रतिष्ठित व्यक्तित्व तथा वरिष्ठ नाट्य कलाकार मरियमित लेप्चालाई अर्पण गर्ने घोषणा गरेको छ। मरियमित लेप्चा सन् १९६० को दशकदेखि नेपाली नाट्य क्षेत्रमा एक विशिष्ट कलाकारका रूपमा परिचित रहँदै आएकी छन्। उहाँले नेपाली नाटक, चलचित्र, टेलिचलचित्र, गीतिनाटक आदिमा अनेकौं भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेकी छन्। उनी नाट्य कलाकारका साथै कुशल नृत्य तथा लोकनृत्य कलाकारका रूपमा समेत परिचित छन्।
भारतीय नेपाली नाट्य तथा लोकनृत्य क्षेत्रमा छ दशकभन्दा लामो समयदेखि उनले पुर्‍याउँदै आएका विविध योगदानको कदर गर्दै मनबहादुर गुरुङ स्मृति प्रतिष्ठानले ‘मनबहादुर गुरुङ स्मृति सम्मान २०२६ अर्पण गर्ने निर्णय गरेको हो। मनबहादुर गुरुङ स्मृति सम्मान यसअघि पनि भारतीय नेपाली नाट्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रदान गरिसकिएको छ। यस सम्मानबाट यसअघि वरिष्ठ नाट्य कलाकार ललित तिवारी साथै जीवन गुरुङलाई सम्मानित गरिसकिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका सदस्यहरू प्राध्यापक मेघनाथ छेत्री, रशिक छेत्री, नरेश कटुवाल, किरण छेत्री, मेघेन्द्रमणि थापा तथ प्रतिष्ठानका संरक्षकद्वय मञ्जरी गुरुङ र सुमन गुरुङको संयुक्त प्रेस विज्ञप्तिमार्फत उक्त सम्मानको घोषणा गरिएको हो। आगामी १८ सेप्टेम्बर २०२६ का दिन प्रतिष्ठान तथा सोनादा डिग्री कलेजको संयुक्त तत्वाधानमा स्कट मिशन पाठशाला भवन, सोनादामा आयोजना गरिने मनबहादुर गुरुङ स्मृति अन्तरविद्यालय तर्क प्रतियोगिता तथा सम्मान समारोहमा वरिष्ठ नाट्य कलाकार मरियमित लेप्चालाई उक्त सम्मान अर्पण गरिनेछ। कार्यक्रमकै अवसरमा स्रष्टा नरेश कटुवालद्वारा सम्पादित ‘मनबहादुर गुरुङका केही नाटक’ नामक कृतिको लोकार्पणसमेत गरिनेछ। साथै अन्तरविद्यालय तर्क प्रतियोगिता पनि सम्पन्न गरिनेछ। साहित्य, कला तथा नाट्य क्षेत्रप्रति अनुराग राख्नुहुने सम्पूर्ण साहित्यप्रेमी, कलाकार, शिक्षाप्रेमी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनुहुन मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान, सोनादा हार्दिक आह्वान गर्दछ।

About Author

Advertisement