मङ्पु (१२ सेप्टेम्बर ): साहित्य अकादमी, भारत सरकारको संस्कृति मन्त्रालय तथा दार्जिलिङ पर्वतीय विश्वविद्यालय, मङपूको संयुक्त तत्वावधानमा ‘भारतीय नेपाली साहित्यमा पर्वतीय लोक संस्कृतिको प्रतिबिम्ब’ विषयक एकदिवसीय संगोष्ठी आज दार्जिलिङ पर्वतीय विश्वविद्यालय, मङपूको सेमिनार हलमा सम्पन्न भयो।
संगोष्ठीमा भारतीय नेपाली साहित्यमा पर्वतीय क्षेत्रको लोकजीवन, संस्कृति, परम्परा, मौलिकता तथा सामाजिक परिवेश कसरी प्रतिबिम्बित हुँदै आएको छ भन्ने विषयमा विभिन्न कोणबाट गहन चर्चा–परिचर्चा गरियो। कार्यक्रममा साहित्यकार, प्राध्यापक, शोधकर्ता तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पर्वतीय लोक संस्कृतिसँग जोडिएका मौलिक पक्षहरूको संरक्षण, अध्ययन तथा नयाँ पुस्तासम्म यसको महत्व र मौलिकता पुर्याउने उद्देश्यले संगोष्ठी आयोजना गरिएको आयोजक पक्षले जनाएको छ। संगोष्ठीले भारतीय नेपाली साहित्यमा पर्वतीय लोक संस्कृतिको भूमिका र योगदानबारे थप विमर्शको वातावरण सिर्जना गरेको बताइएको छ।

कार्यक्रमका अवसरमा दार्जिलिङ पर्वतीय विश्वविद्यालयका उपकुलपति तेजिमाला गुरुङ, रजिस्ट्रार सुजातारानी राई तथा साहित्यकार आशा (मुखिया) लामा अनि डा.सन्जय बान्तावाको बाहुलीबाट कार्यपत्र प्रस्तोताहरू डा.अरुणा राई, डा.प्राध्यापक कबीर बस्नेत, डा. ज्ञानेन्द्र सुब्बा र उदय थुलुङलाई प्रमाणपत्र प्रदान गरियो।
कार्यक्रमको पहिलो सत्रको अध्यक्षता डा. सञ्जय बान्तावाले गरेका थिए। त्यसैगरी दोस्रो चरणमा साहित्यकार बिन्ध्या सुब्बाको अध्यक्षतामा कवि गोष्ठी सम्पन्न भयो। डा. मौसम शर्माले सञ्चालन गरेको उक्त कवि गोष्ठीमा कविहरू सुरेन्द्र थीङ, देवलाल मोक्तान, प्रमिला मुखिया, पुष्कर सिङ्गर तथा नमिता राईले आ–आफ्ना कविता वाचन गरेका थिए। कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथि, साहित्यकार, प्राध्यापक, शोधकर्ता तथा साहित्यप्रेमीहरूप्रति डा. महेश दाहालले धन्यवाद ज्ञापन गरेका छन्।






