आईजीजेएफ टोलीद्वारा गृह तथा पहाड मामिला राज्यमन्त्री विशाल लामासँग भेटवार्ता

619b4e5b-4536-4251-83c0-8b1eaec5b58c

दार्जीलिङ (११ सेप्टेम्बर): इन्डियन गोर्खा जनशक्ति फ्रण्ट आईजीजेएफका सभासदहरू रुबेन प्रधान, रोबर्ट छेत्री, प्रतिम सुब्बा, जितेन राई साथै सन्नी बोम्जनसहितको टोलीले पश्चिम बंगालका गृह तथा पहाडी मामिला राज्यमन्त्री विशाल लामासँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा आईजीजेएफ टोलीले राज्यमन्त्री लामालाई हार्दिक स्वागत तथा नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै उनको सफल कार्यकालको कामना गरेको जानकारी प्राप्त भएको छ। भेटवार्तामा दार्जीलिङ तथा पहाडी क्षेत्रसँग सम्बन्धित विभिन्न दीर्घकालीन तथा अन्तर्निहित विषयहरूमाथि विस्तृत रूपमा छलफल भएको थियो। टोलीले क्षेत्रका विद्यमान समस्या,जनताका सरोकार तथा लामो समयदेखि समाधानको प्रतीक्षामा रहेका विभिन्न विषयहरूबारे राज्यमन्त्री समक्ष आफ्नो धारणा राखेको बताइएको छ।
यस क्रममा दार्जीलिङको वर्तमान अवस्था र आगामी दिनमा क्षेत्रका मुद्दाहरूलाई कसरी व्यावहारिक,रचनात्मक तथा संवैधानिक प्रक्रिया मार्फत अघि बढाउन सकिन्छ भन्ने विषयमा समेत विचार–विमर्श भएको थियो।
आईजीजेएफ टोलीले जनताका आकांक्षा र क्षेत्रका वास्तविक आवश्यकतालाई केन्द्रमा राख्दै सम्बन्धित पक्षहरूबीच निरन्तर संवाद,समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। भेटवार्ता सकारात्मक तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र टोलीले दार्जीलिङका जनतासँग सम्बन्धित महत्वपूर्ण विषयहरूलाई प्राथमिकताका साथ उठाउँदै क्षेत्रको उज्ज्वल भविष्य र जनताको हितका लागि रचनात्मक पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको पनि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट जानकारी गराइएको छ।

About Author

Advertisement