सिलगढी: उत्तर बंगालका महान् समाज सुधारक मनीषी पञ्चानन बर्माको ९२औँ स्मृति दिवस बिहीबार राजगञ्जमा श्रद्धाञ्जली कार्यक्रमका साथ मनाइएको छ।झलियाली ग्राम पञ्चायतअन्तर्गत पर्ने मेहेन्दीगञ्ज क्षेत्रस्थित करतोया नदीको किनारमा रहेको चियारीखारीमा उक्त कार्यक्रम आयोजना गरिएको हो। उत्तर बंगाल क्षत्रिय राजवंशी कुलगुरु ओ कुलशिष्य भक्त ओ भक्त समाज सेवा प्रतिष्ठानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा मनीषी पञ्चानन बर्माको प्रतिमामा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी उहाँप्रति उच्च सम्मान व्यक्त गरिएको थियो। यस अवसरमा उहाँले समाज रूपान्तरण र अधिकार प्राप्तिका लागि पुर्याउनुभएको योगदान तथा उपलब्धिहरूबारे गहन छलफल एवं विचार-विमर्श गरिएको थियो।उक्त स्मृति सभामा राजगञ्ज पञ्चायत समितिका सभापति मोनिका अधिकारी, सह-सभापति निताई मण्डल र मझियाली ग्राम पञ्चायतका प्रधान सुग्रीव रायको उपस्थिति रहेको थियो।यसैगरी उत्तर बंगाल क्षत्रिय राजवंशी कुलगुरु ओ कुलशिष्य भक्त समाज सेवा प्रतिष्ठानका केन्द्रीय समितिका अध्यक्ष करुणाकान्त अधिकारी, सचिव हरदेव अधिकारी, तोयल सिंह रायलगायत संगठनका अन्य पदाधिकारी तथा सदस्यहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।





