गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सम्मान भवनमा स्टेट इन्स्टिच्युट अफ क्यापासिटी बिल्डिङ (एसआईसीबी) को शासकीय बोर्डको पाँचौँ बैठकको अध्यक्षता गर्नुभयो। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ।
बैठकमा संस्थाको स्थापना भएदेखि हालसम्मको भौतिक तथा वित्तीय प्रगतिको समीक्षा गरिएको थियो। साथै, चालु आर्थिक वर्षका लागि प्रस्तावित कार्ययोजनाका साथै क्षमता अभिवृद्धि र सीप विकासलाई थप सुदृढ बनाउन विभिन्न सीप विकास कार्यक्रमहरूलाई एकीकृत गर्ने विषयमा पनि छलफल भयो।
मुख्यमन्त्री तामाङले बैठकमा भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशन दिनुभयो। उहाँले सिक्किममा क्षमता अभिवृद्धि तथा सीप विकासको प्रमुख संस्थाका रूपमा एसआईसीबीको भूमिकालाई थप प्रभावकारी बनाउन लक्षित र परिणाममुखी प्रयासको आवश्यकता रहेकोमा जोड दिनुभयो।

सिक्किममा संस्थागत क्षमता सुदृढ गर्ने, सीपमार्फत युवाहरूलाई सशक्त बनाउने तथा सिकाइ, विकास र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने प्रतिबद्धतालाई बैठकमा पुनः दोहोर्याइएको मुख्यमन्त्री तामाङले उल्लेख गर्नुभएको छ।





