गोर्खाहरुको राजनीतिक समाधानदेखि जनसरोकारका मुद्दाहरु विषयमा छलफल
खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीले दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टसँग शिष्टाचार भेटघाट गर्दै गोर्खाहरुको राजनीतिक मुद्दा तथा खरसाङ क्षेत्रका विभिन्न जनसरोकारका विषयमा महत्वपूर्ण छलफल गरेको छ। गोरामुमो खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा सचिव युद्ध छेत्री, केन्द्रीय समिति सदस्य पारस गुरुङ, हिमालयन प्लान्टेसन वर्कर्स युनियन (एचपीडब्ल्युयु) खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष अदिप राई, एचपीडब्ल्युयु केन्द्रीय समिति सदस्य बिरेन्द्र छेत्री, गोरामुमो सुकुनाबतराई क्षेत्रका संयोजक नितिन छेत्री तथा प्रमुख सल्लाहकार रबि प्रधानको उपस्थिति रहेको थियो। भेटघाटका क्रममा गोर्खाहरुको दीर्घकालीन राजनीतिक मुद्दासहित खरसाङ क्षेत्रका विभिन्न समस्या, जनताको हक, अधिकार तथा विकाससँग सम्बन्धित विषयमा सांसद विष्टसँग विस्तृत छलफल भएको बताइएको छ। यसै क्रममा सुकुना तराई क्षेत्रका जनताको सरोकारसँग जोडिएका विभिन्न विषयहरूबारे संयोजक नितिन छेत्रीले सांसद राजु विष्टलाई अवगत गराएका थिए। स्थानीय जनताको आवश्यकता, क्षेत्रीय समस्या तथा जनताले भोगिरहेका विभिन्न कठिनाइहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने विषयमा समेत छलफल भएको जनाइएको छ। भेटका क्रममा सांसद राजु विष्टले गोर्खाहरुको राजनीतिक समाधान भारतको संविधान तथा संवैधानिक प्रावधानअनुरूप चाँडै हुने विश्वास व्यक्त गरेको प्रतिनिधिमण्डलले जनाएको छ। उनले गोर्खाहरुको राजनीतिक मुद्दासँगै जनताका विभिन्न समस्या, हक तथा अधिकारका विषयमा पनि सरकार गम्भीरतापूर्वक काम गरिरहेको जानकारी गराएको बताइएको छ। गोरामुमो खरसाङ ब्राञ्च कमिटीको उक्त भेटघाटलाई संगठन र जनप्रतिनिधिबीचको समन्वयलाई थप मजबुत बनाउँदै गोर्खाहरुको राजनीतिक आकांक्षा तथा स्थानीय जनताको दैनिक सरोकारका विषयलाई सम्बन्धित तहसम्म पुर्याउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। राजनीतिक समाधानको विषयलाई केन्द्रमा राख्दै जनताको स्थानीय समस्यासम्म आवाज उठाउने गोरामुमोको अभियानलाई यस भेटघाटले थप राजनीतिक गति दिएको देखिन्छ।





