मङ्गन जिल्लामा लागूऔषधविरुद्धको प्रयासलाई कडा बनाउन एनसीओआरडी बैठक सम्पन्न

FB_IMG_1788442189765

मङ्गन: मङ्गन जिल्ला क्षेत्रमा लागूऔषधको दुर्व्यसन नियन्त्रण र रोकथामका लागि मौजुदा संयन्त्रको समीक्षा गर्दै अन्तर-निकाय समन्वयलाई थप सुदृढ बनाउन जिल्लास्तरीय नार्को कोअर्डिनेसन सेन्टर (एनसीओआरडी) को बैठक सम्पन्न भएको छ। मङ्गनका महकुमा अधिकारी (एसडिएम) को अध्यक्षतामा बुधबार उक्त समीक्षा बैठक बस्यो।
​बैठकमा मङ्गनका अतिरिक्त प्रहरी निरीक्षक (एएसपी), शिक्षा विभागका उपनिर्देशक, उपश्रम आयुक्त, सहायक क्षेत्रीय यातायात अधिकारी (एआरटीओ), औषधि निरीक्षक, अन्तःशुल्क विभागका प्रतिनिधि तथा ‘नर्दन राइडर्स’ गैरसरकारी संस्थाका नागरिक समाजका प्रतिनिधि र एनसीओआरडी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।
​बैठकका क्रममा मङ्गनका एएसपीले स्थानीय प्रहरीद्वारा सञ्चालित गहन निगरानी प्रक्रियाबारे जानकारी गराए। सम्भावित जोखिमयुक्त ठाउँहरूमा गैरकानुनी गतिविधि रोक्न २४सै घण्टा गस्ती (पेट्रोलिङ) को व्यवस्था मिलाइएको बैठकमा बताइएको छ।
​एसडिएमले चुरोट तथा अन्य सुर्तीजन्य उत्पादन (नियन्त्रण) ऐन (कोटपा) र लागूऔषध रोकथाम मापदण्डको पालनाको समीक्षा गर्दै विशेष गरी शिक्षण संस्थाहरूको १०० मिटरको परिधिभित्र लागूऔषध तथा सुर्तीजन्य पदार्थको बिक्रीमा लगाइएको प्रतिबन्धको पालनाबारे चासो व्यक्त गरे। सो क्रममा शिक्षा उपनिर्देशकले जिल्लाका दुर्गम क्षेत्रहरूमा समेत गहन अनुगमन गरिएको र कुनै पनि उल्लंघन नभेटिएको जानकारी गराउँदै स्थानीय विद्यालयहरूमा सचेतनामूलक कार्यक्रमहरू निरन्तर चलिरहेको बताए।
​अन्तःशुल्क विभागले अनधिकृत रूपमा सञ्चालित साना पसल तथा खुद्रा व्यापारीहरू विरुद्ध कडाइका साथ अनुगमन अभियान चलाइएको जनाएको छ। मापदण्ड नपुगेका तथा गैरकानुनी व्यापारीक प्रतिष्ठानहरूलाई तुरुन्तै सिल गरिएको वा वैधानिक इजाजतपत्र (लाइसेन्स) लिनका लागि म्याद दिइएको बैठकमा जानकारी दिइयो।
​संयुक्त अनुगमन अभियान सञ्चालन गरिने
​लागूऔषधको ओसारपसारविरुद्ध ‘शून्य सहनशीलता’ को नीति अपनाउँदै एसडिएमले तत्काल एक संयुक्त बहु-निकाय अनुगमन कार्यदल गठन गर्न निर्देशन दिएका छन्। प्रशासनिक, प्रहरी, अन्तःशुल्क र नागरिक निकाय सम्मिलित यो टोलीले मङ्गन जिल्लाभरि अवैध बिक्री वितरण तथा व्यापारिक प्रतिष्ठानहरूको मापदण्ड पालनाबारे अकस्मात र गहन अनुगमन गर्नेछ।
​जिल्ला प्रशासनले लागूऔषधमुक्त समाज निर्माणका लागि आफ्नो प्रतिबद्धता दोहोऱ्याउँदै कुनै पनि शंकास्पद गतिविधि देखिएमा स्थानीय प्रशासनलाई खबर गरी सतर्क रहन नागरिक तथा नागरिक समाजलाई अपिल गरेको छ।

About Author

Advertisement