काठमाडौं:नेपालकाे रसुवा जिल्लामा आएको विनाशकारी बाढीपछि उत्पन्न आपत्कालीन अवस्थाका बीच खोज तथा उद्धार अभियानमा सहयोग गर्न दक्षिण कोरियाले ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको छ।
दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो। मन्त्रालयका अनुसार नेपाल सरकारको अनुरोधमा यो टोली विपद् प्रभावित क्षेत्रमा खोज तथा राहत कार्यमा सहयोग गर्न नेपाल पठाउन लागिएको हो।
टोली मंगलबार नै सैन्य परिवहन विमानमार्फत नेपालका लागि प्रस्थान गर्नेछ। उक्त टोलीले नेपालमा करिब १० दिनसम्म राहत, खोज तथा उद्धार कार्यमा सहयोग गर्नेछ।
उल्लेखनीय छ कि गत साता आएको भीषण बाढीका क्रममा एउटा जलविद्युत् आयोजनामा कार्यरत ९ जना दक्षिण कोरियाली कर्मचारी बेपत्ता भएका थिए। उनीहरूको खोजीका लागि दक्षिण कोरियाले यसअघि नै एक द्रुत प्रतिक्रिया टोली नेपाल पठाइसकेको छ।
तर प्रारम्भिक चरणमा नेपाली सेनाले प्रभावित क्षेत्रमा उडानमा लगाएको प्रतिबन्धका कारण उक्त टोलीलाई घटनास्थल पुग्न ढिलाइ भएको थियो। कोरियाली सञ्चारमाध्यमका अनुसार आवश्यक अनुमति प्राप्त भएपछि टोलीले शनिबारदेखि शंकास्पद स्थानहरूमा हवाई खोजी अभियान सुरु गरेको छ।





