मुम्बई: गीतु मोहनदास निर्देशित यश अभिनीत ‘टक्सिक’ प्रदर्शनमा आएदेखि नै आलोचनामा परेको छ। फिल्ममा यश र कियारा आडवाणीको घनिष्ठ दृश्य तथा हिंसात्मक प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा ट्रोलिङ भइरहेको छ। यसैबीच गीतु र यशका पुराना अन्तर्वार्ताका भिडियो पुनः भाइरल बनेका छन्। गीतुले आफूले पटकथा लेखे पनि छायांकन र सम्पादनका क्रममा परिवर्तन गर्ने बताएकी थिइन्। यशले पनि फिल्म हेरेपछि दर्शक अचम्मित हुने बताएका थिए। यी अभिव्यक्तिलाई लिएर उनीहरू ट्रोलको निशानामा परेका छन्। यद्यपि, केही दर्शकले यशको अभिनयको प्रशंसा गरेका छन्। फिल्मले भारतमा पहिलो दिन १०१.१० करोड रुपैयाँ नेट तथा विश्वभर १४०.७५ करोड रुपैयाँ कमाइ गरेको जनाइएको छ। भविष्यको व्यापार भने नकारात्मक प्रतिक्रियाका कारण चुनौतीपूर्ण देखिएको छ।









