गान्ताेक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) स्पोर्ट्स विङले राष्ट्रिय खेलकुद दिवस २०२६ को अवसरमा आगामी अगस्ट २९ तारिख ग्याङटोकमा ‘५-के मुख्यमन्त्री रन’ (५ किलोमीटर दौड) आयोजना गर्ने भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) को मुख्य आतिथ्यमा उक्त कार्यक्रम सञ्चालन हुनेछ।
युवा तथा आम नागरिकहरूमा शारीरिक स्वस्थता, आरोग्य र खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यो दौड ग्याङटोकस्थित रिज पार्कबाट सुरु हुनेछ। सहभागीहरूलाई बिहान ५:३० बजेभित्रै रिज पार्क पुग्न र बिहान ६:३० बजे दौडको झन्डोत्तोलन (फ्ल्याग-अफ) हुने आयोजकले जनाएको छ।
दौडको मार्ग रिज पार्कबाट सुरु भई जिरो पोइन्ट, वज्र, पुनः जिरो पोइन्ट, भानु पथ, दुकिथ पान पसल, सचिवालय, प्यालेस गेट हुँदै पुनः रिज पार्कमा पुगेर समापन हुनेछ।
दर्ता भएका सहभागीहरूका लागि बिब वितरण अगस्ट २८ तारिखका दिन ग्याङटोकको एमजी मार्गमा बिहान ११:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म गरिनेछ। आयोजक एसकेएम स्पोर्ट्स विङले तोकिएको समयमै बिब संकलन गरी कार्यक्रमका दिन बिहानै उपस्थित हुन आग्रह गरेको छ।










