ताशिदिङमा फोहोरमैला व्यवस्थापन नियम, २०२६ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

FB_IMG_1787852838973

ग्याल्सिङ: ग्याल्सिङ जिल्लाको चोङराङ ब्लकस्थित ताशिदिङ ग्राम पञ्चायत एकाइमा अगस्ट २५ का दिन फोहोरमैला व्यवस्थापन नियम (सॉलिड वेस्ट म्यानेजमेन्ट रुल्स), २०२६ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। जिम्मेवारपूर्ण फोहोर विसर्जन, स्रोतमै फोहोरको वर्गीकरण र समुदायको सहभागितामार्फत क्षेत्रलाई स्वच्छ एवं दिगो बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
​कोङ्री ताशिदिङ जिल्ला प्रादेशिक क्षेत्रको आयोजना तथा अतिरिक्त जिल्लापाल (विकास), ग्रामीण विकास विभाग ग्याल्सिङको सहकार्यमा सम्पन्न कार्यक्रममा जिल्ला पञ्चायत सदस्य वीरेन्द्र गुरुङ, ताशिदिङ ग्राम पञ्चायतका अध्यक्ष सोनाम ग्यात्सो चक्था, पञ्चायत सदस्य, पञ्चायत कर्मचारीका साथै ताशिदिङ वरिष्ठ माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
​कार्यक्रमको सुरुआत जिल्ला पञ्चायत सदस्य वीरेन्द्र गुरुङ र विद्यार्थीहरूको नेतृत्वमा सञ्चालित सरसफाइ अभियानबाट भएको थियो। सो क्रममा उनले स्थानीय सरसफाइको अवस्था निरिक्षण गर्दै सुधारका लागि सुझावहरू दिएका थिए। पञ्चायत, विद्यालय, व्यवसायी, घरधुरी र सम्पूर्ण समुदायको संयुक्त प्रयासबाट मात्र स्वच्छ ताशिदिङ निर्माण हुनसक्ने उनले बताए।
​दोस्रो सत्रमा स्रोत व्यक्ति याङचेनला भुटियाले फोहोरमैला व्यवस्थापन नियम, २०२६ का मुख्य प्रावधान र यसको व्यावहारिक प्रयोगबारे जानकारी गराइन्। उनले स्रोतमै चार प्रकार (भिजिलै, सुक्खा, स्यानिटरी र विशेष हेरचाह आवश्यक फोहोर) मा वर्गीकरण गर्नुपर्ने नियमबारे स्पष्ट पार्दै प्रत्येक घर, पसल, होटल, संस्था र आगन्तुकहरूलाई आफ्नो फोहोरको जिम्मेवारी आफैँ लिन आग्रह गरिन्।

​सत्रमा धेरै फोहोर उत्पादन गर्ने निकायहरूको जिम्मेवारी, ‘प्रदूषकले तिर्ने’ (पोल्युटर पे) सिद्धान्त, ल्यान्डफिलिङमा लगाइएका प्रतिबन्ध र वातावरणीय संरक्षण ऐन, १९८६ अन्तर्गत १ अप्रिल २०२६ देखि लागू भएका नियमहरूबारे चर्चा गरिएको थियो। पञ्चायत अध्यक्ष सोनाम ग्यात्सो चक्थाले स्थानीय उप-नियमहरूबारे जानकारी गराउँदै विद्यार्थीहरूलाई सरसफाइ अभियानमा सक्रिय योगदान दिन आह्वान गरे।

About Author

Advertisement