काठमाडौँ(नेत्र बिक्रम बिमली): नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको प्रलयङ्कारी बाढीका कारण व्यापक जनधनको क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीका कारण हालसम्म देशभरका विभिन्न स्थानबाट ३८९ जनाको शव फेला परेको छ भने ४६६ जना घाइते तथा प्रभावितहरूको उद्धार गरिएको छ।
बाढीको तीव्र बहावले बगाएका शवहरू नदी तटीय क्षेत्रका तल्ला जिल्लाहरूमा फेला परिरहेका छन्। प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा १३७ जनाको शव भेटिएको छ। यस्तै नवलपरासी (पूर्व) मा ८७, धादिङमा ३३, गोरखामा ३२, तनहुँमा २८ र नवलपरासी (पश्चिम) मा २७ जनाको शव फेला परेको छ। बाढीको उद्गम थलो मानिएको रसुवामा १७ र छिमेकी जिल्ला नुवाकोटमा २८ जनाको मृत्यु भएको पुष्टि भएको छ।
विपद्का क्रममा घाइते भएका तथा प्रभावित क्षेत्रबाट उद्धार गरिएका ४६६ जनामध्ये रसुवाबाट मात्रै सबैभन्दा बढी २८९ जना रहेका छन्। यसैगरी नुवाकोटबाट ९०, काठमाडौँबाट ८४ र धादिङबाट ३ जनाको सुरक्षित उद्धार गरी उपचार तथा राहतको व्यवस्था मिलाइएको छ। प्रभावित क्षेत्रमा सुरक्षा निकाय र स्थानीय टोली परिचालन गरी खोजी कार्य जारी राखिएको छ।










