कोलम्बो: पाँचौं तथा अन्तिम दिन ४ विकेट पनि हासिल गर्न नसक्दा भारत र श्रीलंकाबीच दोस्रो क्रिकेट टेस्ट म्याच ड्र रह्यो। सोनल दिनुषाको लड़ाकू अविजित शतकको सहायताले श्रीलंका टेस्ट म्याच ड्र गर्न सफल रह्यो। म्याचको अन्तिम दिन भारतलाई केवल ४ विकेटको आवश्यकता थियो तर भारतीय बलरहरूले दिनभरि प्रयास गरे पनि केवल ३ विकेट हासिल गर्न सके। श्रीलंकाले ९ विकेटमा ४२९ रन बनाएर दोस्रो ईनिंग्स घोषित गर्दा दुवै टोली म्याच ड्र गर्नमा सहमत भयो। यसअघि गालमा खेलिएको पहिलो टेस्ट म्याच १६५ रनले जितेको हुनाले भारतले दुईवटा म्याचको शृंखला चाहिँ १-०-ले जित्यो। यो भारतको २०२३-मा वेष्ट इण्डिजविरुद्ध टेस्ट सीरीज जीतपछि विदेशमा पहिलो टेस्ट सीरीज जीत हो। दिनुषाले भारतीय बलरहरूलाई शास्ती दिँदै २६४ बलमा अविजित १३३ रन बनाए। दिनुषाले म्याचको पहिलो ईनिंग्समा पनि १०३ रन बनाएका थिए। यसबाहेक भारतविरुद्ध २ वटा म्याचको टेस्ट सीरीजमा यो उनको समग्रमा तेस्रो शतक हो। पहिलो टेस्ट म्याचमा उनले १०० र ८४ रन बनाएका थिए। यसरी दिनुषाले चारैवटा ईनिंग्समा ५० भन्दा अधिक स्कोरको रेकर्ड बनाए। यसको साथमा दिनुषा फलोअन्-को सामना गरेपछि म्याचको दुवै ईनिंग्समा शतक बनाउने टेस्ट क्रिकेट केवल तेस्रो ब्याटर बने। यसअघि भारतका विजय हजारेले अष्ट्रेलियाविरुद्ध र जिम्बाब्वेका एण्डी फ्लावरले दक्षिण अफ्रिकाविरुद्ध यस उपलब्धिलाई हासिल गरेका थिए।
श्रीलंकाले आज चौथो दिनको स्कोर ६ विकेटमा २२९ रनदेखि अघि खेल्न शुरु गऱ्यो। बुधवार अविजित रहने दिनुषा र केशारा नुवान्थाले आज बिहानको सत्रमा सातौं विकेटको निम्ति ११२ रनको पार्टनरशीप गरे। लञ्च ब्रेकपछि भारतलाई दिनको पहिलो सफलता हासिल भयो अनि मानव सुथारले नुवान्थालाई आउट गरे। नुवान्थाले १५० बल खेलेर ४ वटा चौकाको सहायताले ४६ रन बनाए। त्यसपछि दिनुषाले प्रबाथ जयसूर्यासँग मिलेर आठौं विकेटको निम्ति २५ रन जोड़े। रवीन्द्र जडेजाले जयसूर्यालाई आउट गरी भारतलाई दोस्रो सफलता दिलाए, जसले २ रन बनाए।

त्यसपछि दिनुषाले दशौं नम्बरका ब्याटर लाहिरु कुमारासँग मिलेर लड़ाइँ जारी राखे अनि नवौं विकेटको निम्ति ४७ रन जोड़े। कुमारा ९० बलमा १२ रन बनाएर जडेजाको शिकार बने। त्यसपछि असिथा फर्नाण्डोले २४ बलको सामना गरी दिनुषालाई साथ दिए अनि यी दुईजना क्रीजमा रहँदै श्रीलंकाले ९ विकेटमा ४२९ रनको स्कोरमा दोस्रो ईनिंग्स घोषित गऱ्यो। श्रीलंकाको दोस्रो ईनिंग्समा भारतीय बलरहरूमा मानव सुथार र रवीन्द्र जडेजाले ३-३ विकेट लिए। उल्लेखनीय छ, भारतले ९ विकेटमा ५०३ रन बनाएर पहिलो ईनिंग्स घोषित गरेको थियो। त्यसपछि श्रीलंकाको पहिलो ईनिंग्स २९० रनमा समाप्त भएको थियो। दिनुषाले प्लेयर अफ द म्याच र भारतका देवदत्त पडिक्कलले प्लेयर अफ द सीरीजको पुरस्कार जिते।










