खरसाङ: खरसाङ महाविद्यालयमा भाषा संग्रामी उत्तमकुमार छेत्रीको सम्मानमा नेपाली भाषा आन्दोलन : संवार्ता कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम खरसाङ महाविद्यालयको नेपाली विभाग, सांस्कृतिक उप समिति र तर्क एंव संगोष्ठी उप समितिको आयोजनामा सम्पन्न भएको। उक्त कार्यक्रमको अध्यक्षता खरसाङ महाविद्यालयका प्राचार्य डा समीर बलले गरेका थिए भने प्रमुख अतिथिको रुपमा भाषा संग्रामी उत्तमकुमार छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रुपमा साहित्यकार एवं पत्रकार हनोक थापा उपस्थित रहेका थिए। कार्यक्रमको शुरुमा छिमेकी देश नेपालमा भएको प्राकृतिक प्रकोपको घटनालाई लिएर मौन प्रार्थना गरिएको थियो। त्यसपछि अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रमलाई सह प्राध्यापक डा सपन प्रधानले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण प्राध्यापक गङ्गाप्रसाद भट्टराईले राखेका थिए। कार्यक्रममा भाषा संग्रामी उत्तमकुमार छेत्रीलाई खरसाङ महाविद्यालयको तर्फबाट सम्मान जनाइएको छ। यस अवसरमा प्राचार्य डा समीर बलको बाहुलीबाट खदार्पणसहित शिर शोभा र सम्वर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइएको छ।कार्यक्रममा भाषा संग्रामी उत्तमकुमार छेत्रीले प्रमुख अतिथिको रुपमा साथै प्रमुख वक्ताको रुपमा नेपाली भाषा मान्यताको आन्दोलन र अनुभवहरु साझा गरेका थिए। उनले त्यसताक आफुले गरेका संघर्षका कुराहरु र कामहरु साझा गरेका थिए।उनले नेपाली भाषाले मान्यता पाएको 35 वर्ष पुगेको छ तर नेपाली भाषाको प्रयोग र नेपाली भाषाबाट कतिजना आईएएस बनिए त्यो चिन्ताको विषय रहेको बताएका छन्। उनले नेपाली भाषाको प्रयोग र लेखनमा देखिएको कमजोरी विषयमा बोल्दै यस विषयमा मनन चिन्तन गर्नु पर्ने बताए। भाषा संग्रामी उत्तमकुमार छेत्रीले नेपाली भाषा प्रयोग र लेखनमा नयाँ पिँढीले सोच्नु पर्ने आवश्यकता रहेको बताए। उनले भाषा, साहित्य, संस्कृति भेषभूषा जातिको परिचय हो र यसलाई संरक्षण र सम्बर्द्धन गरेर लानुपर्छ भनी बताएका छन्। उनले भने, गोर्खा जाति विश्व विजेता हो तर किन आँखा चिम्लेर बस्नु र चिम्लेर हिँड्नु तर हामी छात्ती फुकाएर हिँड्नुपर्छ।’

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा साथै वार्ताकारको रुपमा साहित्यकार एवं पत्रकार हनोक थापाले नेपाली भाषा मान्यताको आन्दोलन र भाषा संग्रामीहरु विषयमा वार्ता प्रस्तुत गरेका थिए। उनले विशेष गरेर भाषा मान्यताको आन्दोलनमा भाषा संग्रामी उत्तमकुमार छेत्रीको योगदान विषयमा वार्ता प्रस्तुत गरेका थिए। विशेष गरेर उनले आफ्नो प्रकाशोन्मुख पुस्तक ‘नेपाली भाषा मान्यता आन्दोलनका एक सक्रिय र समर्पित योध्दा उत्तमकुमार छेत्री’ बाट उध्दृत गर्दै भाषा संग्रामी उत्तमकुमार छेत्रीको विशेष योगदान विषयमा विस्तृत विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाली विभागकी प्रमुख प्राध्यापिका सरस्वती मोहोराले पर्यवेक्षकीय टिप्पणी राखेकी थिइन्। यस क्रममा उनले भाषा संग्रामी उत्तमकुमार छेत्रीलाई साक्षात् रूपमा पाउनु सबैको लागि असल कुरा रहेको बताउँदै नेपाली भाषाले संवैधानिक मान्यता पाउनुमा भाषा संग्रामी उत्तमकुमार छेत्रीको भूमिका र योगदान महत्वपूर्ण छ साथै उनी जस्ता सक्रिय कार्यकर्ताको कारणले नेपाली भाषाले मान्यता पाउन सम्भव भएको बताइन्। उनले भनिन् -‘भाषा मान्यताको आन्दोलनमा उत्तमकुमार छेत्रीको भूमिका आदर र सम्मान योग्यको छ। आज जिउँदो इतिहाससित साक्षात्कार गर्ने मौका पाउनु गर्वको कुरा हो। कार्यक्रममा खरसाङ महाविद्यालयका प्राध्यापक प्राध्यापिकाहरुको समूहद्वारा गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा खरसाङ महाविद्यालयका नेपाली विभागका विद्यार्थीहरुले कविता पठन गरेका थिए। यस क्रममा विद्यार्थीहरु क्रमैले सांक्षेन तामाङ, अतित खवास, एभेन गुरुङ, एञ्जल छेत्री, प्रसन्नता छेत्री, प्रियंका सुब्बा, अमिषा लामा आदिले कविता वाचन गरेका थिए।

यसै कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लिएर आयोजित निबन्ध लेखन प्रतियोगिताको परिणाम घोषणा साथै पारितोषिक वितरण गरिएको थियो। यस प्रतियोगितामा पुष्परानी मेमोरियल विद्यालयका निशल राई प्रथम, यसै विद्यालयका प्रभाकर बराईली दोस्रो र सोनादा उच्चत्तर माध्यमिक विद्यालयकी रोशनी खातुन तेस्रो भइन्। कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिको बाहुलीबाट नानीहरुलाई पारितोषिक वितरण गरिएको छ। कार्यक्रममा विभिन्न विद्यालयबाट आएका शिक्षक शिक्षिकाहरुलाई अतिथिहरुको बाहुलीबाट खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा धन्यवाद ज्ञापन सह प्राध्यापिका शित्तल ठटालले राखेकी थिइन्। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महाविद्यालयका प्राचार्य डा समीर बल र नेपाली विभागका सह प्राध्यापक डा सपन प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।










