खरसाङ: नेपाली भाषा मान्यता आन्दोलनको सक्रिय योध्दा एंव भाषा संग्रामी उत्तमकुमार छेत्रीलाई खरसाङ महाविद्यालयमा सम्मान जनाइएको छ। नेपाली भाषा मान्यताको आन्दोलनमा सक्रिय योगदान दिने भाषा संग्रामी उत्तमकुमार छेत्री मूलत: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको मालुटार चियाबारी निवासी हुन् भने वर्तमानमा दिल्ली निवासी हुन्। भाषा संग्रामी उत्तमकुमार छेत्रीको सम्मानमा खरसाङ महाविद्यालयमा नेपाली भाषा मान्यताको आन्दोलन : संवार्ता कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा नै भाषा संग्रामी उत्तमकुमार छेत्रीलाई खरसाङ महाविद्यालयका प्राचार्य डा समीर बलको बाहुलीबाट खदार्पणसहित शिर शोभा, शल ओढाएर साथै सम्वर्ध्दना पत्र प्रदान गरेर सम्मान जनाइएको छ। यस अवसरमा भाषा संग्रामी उत्तमकुमार छेत्रीले प्रमुख अतिथिको रुपमा साथै प्रमुख वक्ताको रुपमा आफ्नो वक्तव्य राख्दै नेपाली भाषा मान्यता आन्दोलनको ऐतिहासिक पृष्ठभूमि र आफ्नो योगदान साथै अनुभवहरु साझा गरेका थिए। उनले नेपाली भाषाले मान्यता पाएको ३५ वर्ष पुगेको छ तर नेपाली भाषाको प्रयोग र नेपाली भाषाबाट कतिजना आईएएस बनिए त्यो चिन्ताको विषय रहेको बताएका छन्। उनले नेपाली भाषाको प्रयोग र लेखनमा देखिएको कमजोरी विषयमा बोल्दै यस विषयमा मनन चिन्तन गर्नु पर्ने बताए। भाषा संग्रामी उत्तमकुमार छेत्रीले नेपाली भाषा प्रयोग र लेखनमा नयाँ पिँढीले सोच्नु पर्ने आवश्यकता रहेको बताए। उनले भाषा, साहित्य, संस्कृति भेषभूषा जातिको परिचय हो र यसलाई संरक्षण र सम्बर्द्धन गरेर लानुपर्छ भनी बताएका छन्। उनले भने, गोर्खा जाति विश्व विजेता हो तर किन आँखा चिम्लेर बस्नु र चिम्लेर हिँड्नु तर हामी छात्ती फुकाएर हिँड्नुपर्छ।’










