विजेताले पाउनेछन् ५ लाख पुरस्कार
गान्ताेक: सिक्किममा धनुर्विद्या (आर्चरी) खेलको प्रवर्द्धन र प्रतिभाशाली खेलाडीहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने उद्देश्यका साथ पहिलो ‘गभर्नर्स आर्चरी गोल्डकप (कम्पाउन्ड) टुर्नामेन्ट २०२६’ शनिबारदेखि गान्ताेकको ताथाङछेन आर्चरी मैदानमा सुरु भएको छ। सिक्किम आर्चरी एसोसिएसनको आयोजनामा सुरु भएको यस प्रतियोगितामा राज्यभरका १९ वटा टोलीहरूले सहभागिता जनाएका छन्।
प्रतियोगिताको उद्घाटन सिक्किम विधानसभाका सभामुख मिङ्मा नोर्बु शेर्पाले सिक्किम आर्चरी एसोसिएसनका अध्यक्ष एवम् मन्त्री सोनाम लामा, क्षेत्रीय विधायक तेन्जिङ नोर्बु लामथा लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा गरे। उद्घाटन खेल न्यु सोतक र शेराबू टोलीबीच भएको थियो, जसमा शेराबू विजयी बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ। नकआउट आधारमा खेलाइने यस प्रतियोगिताको विजेताले नगद रु ५ लाख र उपविजेताले रु ३ लाख पुरस्कार प्राप्त गर्नेछन्।
कार्यक्रममा बोल्दै मन्त्री सोनाम लामाले मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा यो ऐतिहासिक प्रतियोगिता सम्भव भएको बताए। खेलकुदले युवाहरूलाई दुर्व्यसनबाट टाढा राख्न मद्दत पुर्याउने उल्लेख गर्दै उनले युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उच्च राख्न प्रेरित गरे। साथै, आगामी दिनमा सिक्किममा छुट्टै आर्चरी एकेडेमी स्थापना गर्ने सरकारको लक्ष्य रहेको पनि उनले जानकारी दिए।










