हस्तान्तरण गरे १० वर्षको प्रगति विवरण
ईटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डूले केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटघाट गरी राज्यको १० वर्षे विकास र रूपान्तरणको खाका समेटिएको ‘टिम अरुणाचल’को प्रगति प्रतिवेदन हस्तान्तरण गरेका छन्। अरुणाचल प्रदेशका जनताको तर्फबाट नयाँ दिल्लीमा भएको यस भेटघाटका क्रममा मुख्यमन्त्री खाण्डूले राज्यमा सञ्चालित प्रमुख विकास निर्माणका आयोजनाहरूबारे गृहमन्त्रीलाई विस्तृत जानकारी गराए।भेटपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मुख्यमन्त्री खाण्डूले अरुणाचलको विकास, शान्ति र समृद्धिका लागि गृहमन्त्री अमित शाहले देखाउँदै आएको निरन्तर चासो र सहयोगप्रति आभार व्यक्त गरे। उनले राज्यको समग्र उन्नतिका लागि केन्द्र सरकारबाट निरन्तर मार्गदर्शन र सहयोगको अपेक्षा राखिएको समेत बताए।









