एकै परिवारका पाँचजनाको मृत्यु
शिलांग: पश्चिम बंगालको वीरभूमस्थित प्रसिद्ध धार्मिकस्थल तारापीठको एक होटलमा भएको भीषण आगलागीमा परी एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरू मेघालयको वेस्ट गारो हिल्सस्थित डालु चोइपानीका बासिन्दा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मृतकहरूमा राजेन्द्र नाथ, उनकी पत्नी आशा नाथ, बुरान मोदक तथा दुई बालबालिका १० वर्षीय शिवराज मोदक र ८ वर्षीय औशनाथ मोदक रहेका छन्। उनीहरू मेघालयबाट तारापीठ दर्शनका लागि पुगेका थिए। सोमबार बिहानै तारापीठस्थित होटल बिदेशिनीमा अचानक सल्किएको आगोमा परी कुल नौ जनाको मृत्यु भएको जनाइएको छ, जसमध्ये पाँच जना एकै परिवारका हुन्।
उक्त टोलीका अन्य छ जनालाई भने सकुशल उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ। धार्मिक यात्राका क्रममा भएको यस दुःखद दुर्घटनाले मृतकका परिवार र आफन्तजनमा गहिरो शोक छाएको छ।








