कानुन राज्यमन्त्री विश्वास र पर्यटन मन्त्री डा. घोषद्वारा निरीक्षण
सिलगढी: पश्चिम बंगालका कानुन राज्यमन्त्री बिराज विश्वास र पर्यटन मन्त्री डा. शङ्कर घोषले शुक्रबार सिलगढी अदालत परिसरको निरीक्षण गर्दै अधिवक्ताहरूसँग छलफल गरेका छन्। निरीक्षणका क्रममा मन्त्रीद्वयले ‘बार एसोसिएसन’का पदाधिकारी तथा कानुन व्यवसायीहरूसँग भेटघाट गरी उनीहरूका समस्याबारे जानकारी लिएका हुन्।
छलफलका क्रममा कानुन व्यवसायीहरूले सिलगढीमा नयाँ अदालत भवन निर्माणको वर्षौँ पुरानो मागलाई मुख्य रूपमा उठाएका थिए। नयाँ भवनको ढाँचा (डिजाइन) तयार भइसके पनि हालसम्म निर्माण कार्य सुरु हुन सकेको छैन। जसका कारण पुरानो भवनमा अधिवक्ता, कानुन व्यवसायी र सर्वसाधारणले दैनिक सास्ती भोग्दै आएका छन्।

अधिवक्ताहरूले देखाएको चासो र समस्याप्रति ध्यान आकर्षण गराएपछि कानुन राज्यमन्त्री बिराज विश्वासले नयाँ अदालत भवनको निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता जनाए। सो क्रममा राज्यमन्त्री विश्वासले अघिल्लो तृणमूल कांग्रेस सरकारको बेवास्ताका कारण यो परियोजना लामो समयदेखि अलपत्र परेको आरोप समेत लगाए।
स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भएको उक्त भ्रमणका क्रममा मन्त्रीद्वयले अदालत परिसरमा उपस्थित अधिवक्ताहरूलाई राष्ट्रिय ध्वज (तिरंगा) समेत हस्तान्तरण गरेका थिए।









