मुख्यमंत्री शुभेन्दु अधिकारीको नेतृत्वमा पश्चिम बंगालले नयाँ दिशा लिएको दाबी
सिलगढी: भारतीय जनता पार्टी (भाजपा) सिलगढी सांगठनिक जिल्लाको आयोजनामा आज सिलगढी तथा आसपासका क्षेत्रमा भव्य ‘तिरंगा यात्रा’ सम्पन्न भएको छ। देशभक्ति र राष्ट्रिय एकताको सन्देश दिने उद्देश्यले आयोजित उक्त र्यालीमा हजारौँ स्थानीय नागरिक तथा पार्टी कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
र्यालीमा सहभागीहरूले हातहातमा भारतीय राष्ट्रिय ध्वज (तिरंगा) बोकेर देशभक्तिका नारा लगाएका थिए। कार्यक्रममा बोल्दै स्थानीय नेताहरूले तिरंगा केवल एउटा झण्डा मात्र नभएर भारतको स्वतन्त्रता, सार्वभौमसत्ता र करोडौँ भारतीयहरूको एकताको प्रतीक भएको बताएका छन्।
’प्रधानमन्त्री मोदीको नेतृत्वमा सुरक्षित र सशक्त भारत’
कर्याक्रमलाई सम्बोधन गर्दै नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत विश्वमञ्चमा एउटा शक्तिशाली, सुरक्षित र स्वाभिमानी राष्ट्रको रूपमा उभिएको दाबी गरे। राष्ट्रिय सुरक्षा, आर्थिक सुदृढीकरण र जनकल्याणकारी योजनाहरूको प्रभावकारी समन्वयका कारण देशवासीमा अभूतपूर्व आत्मविश्वास बढेको उनीहरूको भनाइ थियो।
पश्चिम बंगालमा मुख्यमंत्री शुभेन्दु अधिकारीको चर्चा
र्यालीका क्रममा पश्चिम बंगालको वर्तमान राजनीतिक र प्रशासनिक अवस्थाबारे चर्चा गर्दै भाजपा नेताहरूले प्रदेशमा मुख्यमंत्री शुभेन्दु अधिकारीको नेतृत्वमा नयाँ राजनीतिक दिशा निर्माण भइरहेको बताए। राज्यमा सुशासन, दु्रत विकास, बलियो प्रशासन र नागरिकहरूको सुरक्षाका लागि मुख्यमंत्री शुभेन्दु अधिकारीको भूमिका सराहनीय रहेको उनीहरूको दाबी थियो।
आयोजकका तर्फबाट देशभक्तिको यस महाअभियानलाई घर-घरसम्म पुर्याउन आग्रह गर्दै भनिएको छ, “हामी प्रत्येक नागरिकलाई आफ्नो घरमा गर्वका साथ तिरंगा फहराउन र राष्ट्रिय भावनालाई अझ मजबुत बनाउन अपिल गर्दछौँ। देशका लागि बलिदान दिने वीर शहीदहरूलाई सम्मान गर्दै समृद्ध भारत निर्माणमा जुट्नु आजको आवश्यकता हो।”
’जय हिन्द’ को नाराका साथ समापन भएको उक्त यात्राले सिलगढी क्षेत्रमा छुट्टै देशभक्तिको वातावरण सिर्जना गरेको थियो।









