दार्जिलिङ: दार्जीलिङ म्युनिसिपलिटी एम्प्लोइज युनियन तथा दार्जीलिङ म्युनिसिपलिटी पेन्सनर्स युनियनको संयुक्त पहलमा कर्मचारी तथा पेन्सनर्सहरूले विभिन्न माग राख्दै नगरपालिका कार्यालयअघि धर्ना प्रदर्शन गरेका छन्। लामो समय बितिसक्दा पनि पीएफ, ग्रेच्युटी तथा पेन्सनसम्बन्धी रकम प्राप्त गर्न नसकेको भन्दै आन्दोलनमा सहभागी कर्मचारी तथा पेन्सनर्सहरूले नगरपालिका प्रशासनले तत्काल पहल गरी समस्या समाधान गर्नुपर्ने मांग गरेका छन्। युनियन पक्षले सम्बन्धित विषयमा पटक पटक नगरपालिका प्रशासनको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको दाबी गरेको छ। उनीहरूले अब थप ढिलाइ नगरी पीएफ, ग्रेच्युटी तथा पेन्सनसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न नगरपालिका प्रशासनसँग मांग गरेका छन्। युनियनले आफ्ना मागप्रति नगरपालिका प्रशासन गम्भीर नबने नगरपालिकाका ईओ(एमजेकयुटिव अफिसर) तथा एफओ(फायनान्स ऑफिसर) विरुद्ध प्राथमिकता दर्ता गर्ने चेतावनीसमेत दिएका छन्।
यता, कर्मचारी तथा पेन्सनर्सहरूले आफूहरूको लामो समयदेखिको समस्यालाई गम्भीरतापूर्वक लिएर तत्काल समाधानको पहल गर्न नगरपालिका प्रशासनसँग आग्रह गरेका छन्। समयमै मांग पूरा नभए ईओ, एफओ तथा चेयरम्यानको कार्यालयअगाडि धर्ना दिँदै अधिकारीहरूलाई कार्यालयबाट बाहिर निस्कन नदिने तथा कार्यालयमै थुनेर राख्नेसम्मको कडा कदम चाल्ने चेतावनी युनियन पक्षले दिएका छन्।










