होर्मुजलाई भनेका थिए: ‘परमाणु बमभन्दा पनि बहुमूल्य’
नयाँ दिल्ली: अमेरिका र इजरायलसँगको बढ्दो सैन्य तनावका बीच इरानले आफ्नो सर्वोच्च सुरक्षा निकाय ‘सुप्रिम नेसनल सेक्युरिटी काउन्सिल’ (एसएनएससी) को नेतृत्व परिवर्तन गरेको छ। राष्ट्रपति मसुद पेजेस्कियानले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का पूर्व कमान्डर-इन-चिफ मोहसिन रेजाईलाई देशको नयाँ सेक्युरिटी चिफ नियुक्त गरेका हुन्। रेजाईलाई इरानको कट्टरपन्थी गुटका प्रभावशाली सैन्य रणनीतिकारका रूपमा हेरिन्छ। उनले बाकर जोल्गाद्रको स्थान लिएका छन्।
राष्ट्रपति पेजेस्कियानले उनलाई सेक्युरिटी काउन्सिलको सेक्रेटरी बनाउनुका साथै सर्वोच्च नेता (सुप्रिम लिडर) को आधिकारिक प्रतिनिधिको जिम्मेवारीसमेत सुम्पेका छन्। यस दोहोरो जिम्मेवारीका कारण अब इरानको राष्ट्रिय सुरक्षा र विदेश नीति तय गर्ने सर्वोच्च संयन्त्रमा रेजाईको पकड थप मजबुत भएको छ। काउन्सिलमा उनलाई निर्णय प्रक्रिया र मतदानको पूर्ण अधिकार प्राप्त हुनेछ।
इरान-इराक युद्धका बेला १९८१ देखि १९९७ सम्म आइआरजीसीको कमान्ड सम्हालेका ७१ वर्षीय रेजाईले होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) मा इरानी नियन्त्रणलाई सधैँ प्राथमिकता दिँदै आएका छन्। केही समयअघि मात्रै उनले होर्मुज क्षेत्र इरानका लागि ‘परमाणु बमभन्दा पनि बहुमूल्य’ रहेको अभिव्यक्ति दिएका थिए। इरानी बन्दरगाहमा नाकाबन्दी गरिए अमेरिकाले ठुलो जनधनको क्षति भोग्नुपर्ने चेतावनीसमेत उनले दिँदै आएका छन्। रेजाईको यो नियुक्तिपछि मध्यपूर्वमा अमेरिका र इजरायलविरुद्ध इरानको रणनीति अझ आक्रामक बन्ने विश्लेषण गरिएको छ।










