सिलगढी: सिलगढी पुलिस कमिश्नरेटअन्तर्गत भक्तिनगर थानाको आशिघर चौकी पुलिसले नक्कली तथा मिसावटयुक्त सिमेन्ट कारोबार गर्ने गिरोहमाथि ठूलो कारबाही गरेको छ।
गोप्य सूचनाका आधारमा गरिएको छापामारीमा जलपाईगुडी निवासी चार जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेहरूमा राजेश रोय (२१), रूपक महन्त (२७), गोविन्द महन्त (२३) र चिरञ्जीत बर्मन (२६) रहेका छन्। प्रहरीले उनीहरूका साथबाट अल्ट्राटेक प्रिमियम सिमेन्ट १८२ बोरा, अल्ट्राटेक ह्वाइट सिमेन्ट २८ बोरा, सादा सिमेन्ट (सेतो पाउडर) ११७ बोरा, मिसावट गरिएको बङ्गुर म्याग्ना सिमेन्ट ३२ बोरा र २५ वटा खाली बोरा बरामद गरेको छ। साथै सिमेन्ट मिसाउन र भर्न प्रयोग गरिने फलामको साबेल र स्टिलको सोली (फनेल) समेत जफत गरिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले गुणस्तरहीन सिमेन्टमा मिसावट गरी नामी ब्रान्डको नक्कली लोगो र ट्रेडमार्क भएका बोरामा पोका पारेर बिक्री गर्दै आएका थिए। भक्तिनगर थानामा मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।











