मुख्यमन्त्री हिमन्त विश्व सरमाद्वारा डिब्रुगढ पुगेर श्रद्धाञ्जली अर्पण
डिब्रुगढ: स्टेट बैंक अफ इन्डियाका सेवानिवृत्त महाप्रबन्धक तथा समाजसेवी प्रसाद सोनोवालको निधन भएको छ। उहाँ केन्द्रीय मन्त्री सर्बानन्द सोनोवालका जेठा दाजु हुनुहुन्छ।
उहाँको निधनमा शोक व्यक्त गर्न असमका मुख्यमन्त्री हिमन्त विश्व सरमा डिब्रुगढस्थित केन्द्रीय मन्त्री सोनोवालको निवास पुगेर दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। मुख्यमन्त्री सरमाले प्रसाद सोनोवालको सादगी, समर्पित पेसागत जीवन र उच्च मानवीय मूल्यमान्यता समाजका लागि सधैँ प्रेरणादायी रहने बताउनुभयो। उहाँको निधनले समाजलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै मुख्यमन्त्रीले शोक सन्तप्त सोनोवाल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।











