बीरपाडा: डुवर्सस्थित बीरपाड़ामा भारतीय नेपाली संगीत महासंघ (भानेसम)द्वारा आयोजित सर्व डुवर्स स्तरीय महासभा तथा मानार्थ सदस्यता वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। महासंघका डुवर्स संयोजक ललित न्यासुरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व, मध्य तथा पश्चिम डुवर्सका संगीत साधक, कलाकार, सर्जक, साहित्यप्रेमी तथा संगीत अनुरागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस कार्यक्रममा सहभागी हुन भारतीय नेपाली संगीत महासंघको केन्द्रीय प्रतिनिधि मण्डलमा अध्यक्ष महेश सेवा, महासचिव रूपेश रसाइली, प्रमुख सल्लाहकार महेश्वर तामाङ, उपाध्यक्ष रञ्जिता सुनार तथा कार्यकारिणी सदस्यहरू देवराज सुनार, जुनू गौतम, सुरक्षा सिञ्चुरी र युवराज सुनारको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष महेश सेवाले महासंघको स्थापना, उद्देश्य, कार्यदिशा तथा भावी योजनाबारे विस्तृत जानकारी गराउँदै नेपाली संगीत, कलाकार तथा स्रष्टाहरूको हक, हित, सम्मान र संरक्षणका निम्ति महासंघ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।महासंघका महासचिव रूपेश रसाइलीले आफ्नो सम्बोधनमा डुवर्सलाई कला, साहित्य र संगीतको उर्वर तथा पवित्र भूमि भएको उल्लेख गर्दै दार्जिलिङ र डुवर्सबीचको ऐतिहासिक, सांस्कृतिक तथा सांगीतिक सम्बन्धलाई अझ सुदृढ बनाउन महासंघले सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। यसको साथै उनले संगठन विस्तारसँगै कलाकारहरूको साझा मञ्च निर्माण गरी नेपाली संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सबैलाई एकताबद्ध हुन आग्रह गरे। प्रमुख सल्लाहकार महेश्वर तामाङले कलाकारहरूले पाउनुपर्ने अधिकार, सम्मान तथा विभिन्न सरकारी एवं संस्थागत सुविधाबारे प्रकाश पार्दै अब उपरान्त कलाकारहरू एकजुट भई आफ्ना हक र अधिकारको संरक्षण, प्रवर्द्धन तथा संस्थागत विकासका लागि संगठित रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।कार्यक्रमको विशेष आकर्षणका रूपमा मानार्थ सदस्यता वितरण सम्पन्न गरिएको थियो। यस अवसरमा डुवर्सका वरिष्ठ संगीतकर्मी ललित न्यासुर तथा रतन लामालाई भारतीय नेपाली संगीत महासंघको मानार्थ सदस्यता प्रदान गरी सम्मान गरिएको थियो। संगठन विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले पूर्व डुवर्सका संयोजकमा रतन लामा तथा मध्य डुवर्सका संयोजकहरूमा विनोद मोक्तान र धुर्व तामाङलाई चयन गरिएको घोषणा पनि गरियो।कार्यक्रममा सहभागी विभिन्न संगीतकर्मीहरूले डुवर्सेली संगीतको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा यसको संरक्षण र प्रवर्द्धनका विषयमा आफ्ना धारणा राख्दै नेपाली संगीतको समुन्नोतिका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिएका छन्। कार्यक्रममा महासंघका प्रतिनिधिमण्डल र स्थानीय कलाकारहरूबीच संगठन विस्तार, कलाकारहरूको हक र हित तथा भावी कार्ययोजनाबारे सार्थक अन्तरक्रिया समेत सम्पन्न भएको थियो।कार्यक्रमको सञ्चालन हरकू तामाङले गरेका थिए।

कार्यक्रमलाई सफल बनाउन लङ्कापाड़ा निवासी विनोद मोक्तानको विशेष पहल रहेको थियो भने व्यवस्थापन तथा समन्वयमा गौतम विश्वकर्मा, समीर खड्का, सबिन छेत्री लगायत सम्पूर्ण सहयोगीहरूको उल्लेखनीय योगदान रहेको महासंघले जनाएको छ। अन्त्यमा, कार्यक्रमलाई व्यवस्थित, मर्यादित तथा सफलतापूर्वक सम्पन्न गराउन विशेष योगदान पुर्याउनुहुने बाग्राकोट निवासी वरिष्ठ संगीतकार उमेश रोकाप्रति भारतीय नेपाली संगीत महासंघले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। साथै कार्यक्रममा सहभागी सम्पूर्ण कलाकार, सर्जक, अतिथिवर्ग, स्थानीय आयोजक, सहयोगी तथा संगीतप्रेमीहरूप्रति महासंघले हार्दिक धन्यवाद ज्ञापन गर्दै डूअर्स क्षेत्रमा नेपाली संगीत, कला र साहित्यको संरक्षण, प्रवर्द्धन तथा कलाकारहरूको हक र हितका लागि भविष्यमा अझ सशक्त र प्रभावकारी रूपमा कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रम अत्यन्त सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको महासंघले जनाएको छ।











