पीएफ रकम प्राप्ति ठूलो उपलब्धि रहेको दावी
खरसाङ: खरसाङको लङभ्यू चिया बगानका श्रमिकहरूले १०१ दिनदेखि जारी भोक हडताल तथा आन्दोलनको क्रममा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै आईतवार विजय जुलुस निकालेका छन्। आन्दोलनकारी श्रमिकहरूले मालिक गोविन्द गर्गको बेल रद्द हुनु तथा पीएफ रकम भुक्तानीको प्रक्रिया अघि बढ्नु आफ्नो संघर्षको ठूलो जीत भएको बताएका छन्।श्रमिकहरूका अनुसार आन्दोलनकै दबाबका कारण यसअघि ज्याला तथा तलबबापत १ करोड २८ लाख रुपियाँ प्राप्त भइसकेको छ। त्यसैगरी मालिक गोविन्द गर्ग पक्राउ परेपछि न्यायालय र सम्बन्धित निकायमार्फत् श्रमिकहरूले लगभग २ करोड रुपियाँ पीएफ रकम प्राप्त गरेका छन्। यसअघि पनि ३ लाख ७ हजार रुपियाँ तथा ११ लाख १७ हजार रुपियाँका दुई किस्ता गरी पीएफ रकम भुक्तानी भएको थियो।आन्दोलनकारीहरूको भनाइमा यी सबै उपलब्धिहरू लामो संघर्ष र निरन्तर आन्दोलनको परिणाम हुन्। त्यसैले आईतवार श्रमिकहरूले बगान क्षेत्रमा विजय जुलुस निकाल्दै आफ्नो एकतालाई पुनः प्रदर्शन गरेका छन्। श्रमिक नेताहरूले पीएफको मुद्दासँगै अब ग्राजुएटी भुक्तानीको विषयलाई थप सशक्त रूपमा उठाइने बताएका छन्।

उनीहरूका अनुसार श्रमिकहरूको बाँकी सम्पूर्ण हक र अधिकार सुनिश्चित नभएसम्म आन्दोलनको दबाब जारी रहनेछ।उल्लेखनीय छ, सन् २०२५ को जुन महिनामा पनि लङभ्यू चिया बगानका श्रमिकहरूले आन्दोलन गर्दै व्यवस्थापनलाई पीएफ रकम भुक्तानी गर्न बाध्य बनाएका थिए। श्रमिकहरूको भनाइमा विगतका संघर्षहरूकै निरन्तरताले आजका उपलब्धिहरू सम्भव भएका हुन्।
लङभ्यू चिया बगानमा पीएफ, ग्राजुएटी, ज्याला तलब लगायतका श्रमिक अधिकारका विषयमा जारी आन्दोलनले दार्जिलिङ पहाडका चिया बगान श्रमिकहरूको समस्यालाई पुनः राष्ट्रिय स्तरमा चर्चा गराएको छ।










