सोनादा: सोनादा डिग्री कलेजको नारी प्रकोष्ठको आयोजनामा “बेकिङको कला र उद्यमशीलतामार्फत नारी सशक्तीकरण” विषयमा आधारित बेकिङ सम्बन्धी कार्यशाला सोनादा बजारस्थित च्याट बक्स क्याफेमा सम्पन्न भयो। उक्त कार्यशालामा कलेजका छात्राहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
कार्यशालाको सञ्चालन च्याट बक्स क्याफे तथा सोनादा टेलिकमका सञ्चालक सिद्धान्त राईले गरेका थिए। उनले छात्राहरुलाई बेकिङसम्बन्धी विभिन्न विधि तथा प्रक्रियाबारे व्यावहारिक प्रशिक्षणसहित जानकारी प्रदान गरेका थिए।अति रोचक, ज्ञानवर्ध्दक तथा अन्तर्क्रियात्मक रहेको उक्त सत्रमा छात्राहरूले उत्साहका साथ सहभागिता जनाउँदै बेकिङसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गरेका थिए। कार्यक्रममा कलेजकी नारी प्रकोष्ठकी संयोजिका प्रा रतिका सुब्बा तथा समितिका सदस्याहरू प्रा इलोरा शर्मा र प्रा डिच्छेन लह्मु योल्मोले छात्राहरूलाई सहजीकरण गर्दै कार्यशालामा सहभागी गराएका थिए। कार्यशालाको समापनमा आफ्नो अमूल्य समय प्रदान गर्दै महत्वपूर्ण योगदान पुर्याएवापत सिद्धान्त राईलाई सम्मान तथा अभिनन्दन गर्दै हार्दिक आभार प्रकट गरेका थिए भनी सोनादा डिग्री कलेजका उप प्राध्यापक मेघनाथ छेत्रीले जानकारी गराएका छन्।










