नामची: ६५औँ प्रि-सुब्रतो कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता-२०२६ अन्तर्गत बालिका उप-१७ राज्यस्तरीय अन्तर-विद्यालय फुटबल प्रतियोगिता बुधबार नामचीस्थित भाइचुङ रङ्गशालामा भव्य रूपमा सम्पन्न भएको छ।समापन समारोहमा सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागअन्तर्गत सिक्किम युवा विकास बोर्डका अध्यक्ष बसन्त योन्जन मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।गत १८ जुलाईदेखि २२ जुलाईसम्म सञ्चालित यस प्रतियोगितामा सिक्किमका छवटै जिल्लाका टोलीहरूले सहभागिता जनाएका थिए। प्रतियोगिताले युवा फुटबल खेलाडीहरूलाई आफ्नो खेल कौशल र खेल भावना प्रदर्शन गर्ने उत्कृष्ट मञ्च प्रदान गरेको थियो।बुधबार खेलिएको फाइनल भिडन्तमा पीएम श्री सरकारी मावि सोरेङले एकतर्फी प्रदर्शन गर्दै नर्थ सिक्किम एकेडेमी मावि मङ्गनलाई १०-० को फराकिलो मतान्तरले पराजित गरी च्याम्पियन ट्रफी कब्जा गर्यो।यो जितसँगै पीएम श्री सरकारी मावि सोरेङले अब नयाँ दिल्लीमा आयोजना हुने ६५औँ सुब्रतो कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सिक्किम राज्यको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेको छ।

समापन कार्यक्रममा खेलकुद तथा युवा मामिला विभागका उप-निर्देशक बसन्त प्रधान, नर्थ सिक्किम एकेडेमी माविका निर्देशक नामग्याल पिन्सो काजी, शारीरिक शिक्षा शिक्षकहरू, प्रशिक्षकहरू, विद्यार्थी तथा खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको नामची जिल्ला सूचना अधिकारीले जनाएका छन्।









