गोरामुमोद्वारा मुख्यमन्त्री सुभेन्दु अधिकारी र सांसद राजु विष्टलाई दिए धन्यवाद
दार्जिलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय समिति प्रवक्ता वाई लामाले राशन कार्डबाट नाम हटाइएका लाभग्राहीहरूको नाम पुनः बहाल भएको जानकारी दिँदै यसका लागि राज्यका मुख्यमन्त्री सुभेन्दु अधिकारी तथा सांसद राजु विष्टलाई गोरामुमो अध्यक्ष मन घिसिङको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्। प्रवक्ता लामाका अनुसार सरकारी राशन सुविधा उपभोग गरिरहेका धेरै परिवारहरूको नाम अचानक राशन कार्डबाट हटाइएपछि पीडित परिवारहरू आफ्नो समस्या लिएर गोरामुमो केन्द्रीय कार्यालय पुगेका थिए। उनीहरूले अध्यक्ष मन घिसिङसँग भेट गरी समस्या समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका थिए। उक्त विषयलाई अध्यक्ष मन घिसिङले अत्यन्त गम्भीरतापूर्वक लिँदै तत्काल सांसद राजु बिष्टसँग सम्पर्क गरी राशन कार्डबाट नाम हटाइएको समस्याबारे जानकारी गराएका थिए। सोही क्रममा दार्जीलिङ पहाडमा बंगला भाषा अनिवार्य रूपमा लागू गर्ने विषयप्रति पनि आफ्नो चिन्ता तथा धारणा सांसदसमक्ष राखिएको प्रवक्ता लामाले बताएका छन्। यससँगै अध्यक्ष मन घिसिङले राशन कार्डसम्बन्धी समस्याको शीघ्र समाधानका लागि गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामा तथा केन्द्रीय समिति सदस्य सन्दीप लिम्बुमार्फत खाद्य तथा आपूर्ति विभागमा ज्ञापनपत्र बुझाउन निर्देशन दिएका थिए। साथै, जिल्ला प्रशासनसमक्ष पनि यस विषयमा छुट्टै ज्ञापनपत्र बुझाइएको जानकारी दिइएको छ।प्रवक्ता लामाका अनुसार सांसद राजु बिष्टले उक्त विषयमा राज्यका मुख्यमन्त्री सुभेन्दु अधिकारीसँग प्रत्यक्ष समन्वय गरेपछि राशन कार्डबाट नाम हटाइएका सबै लाभग्राहीहरूको नाम पुनः बहाल गरिएको छ। यसलाई प्रभावित परिवारहरूका लागि ठूलो राहतका रूपमा गोरामुमोले लिएको जनाएको छ।यसैबीच, दार्जीलिङ पहाड, तराई तथा डुवर्स क्षेत्रमा भाषासम्बन्धी उठेको अन्योलका विषयमा पनि मुख्यमन्त्री सुबेन्दु अधिकारीले सांसद राजु बिष्टलाई पत्राचार गर्दै ती क्षेत्रमा नेपाली भाषा यथावत् रहने स्पष्ट जानकारी गराएको प्रवक्ता लामाले बताएका छन्। राशन कार्डको समस्या समाधान हुनुका साथै नेपाली भाषाको संरक्षणसम्बन्धी स्पष्ट आश्वासन प्राप्त भएकोमा गोरामुमो अध्यक्ष मन घिसिङ तथा सम्पूर्ण जनताको तर्फबाट राज्यका मुख्यमन्त्री सुबेन्दु अधिकारी र सांसद राजु बिष्टप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको प्रवक्ता वाई लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।










