खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत महानदी–तीनधारे समष्टि कोर कमिटीको एक उच्चस्तरीय सांगठनिक तथा समीक्षात्मक सभा समष्टि अध्यक्ष जेबी गुरुङको अध्यक्षतामा तीनधारेस्थित वरिष्ठ नागरिक कल्याण संगठनको भवनमा सम्पन्न भयो। सभाको प्रारम्भमा अध्यक्ष जेबी गुरुङले उपस्थित सम्पूर्ण पदाधिकारी तथा प्रतिनिधिहरूलाई स्वागत गर्दै यो सभा संगठनको वर्तमान अवस्था, शाखागत गतिविधि तथा आगामी कार्ययोजनाको समीक्षा गर्न आयोजना गरिएको जानकारी गराएका थिए। उनले प्रत्येक शाखाका पदाधिकारी तथा शाखा प्रभारीहरूलाई आफ्नो-आफ्नो शाखाको सांगठनिक गतिविधि, उपलब्धि तथा भावी योजनाबारे प्रतिवेदन प्रस्तुत गर्न आग्रह गरे। सभामा शाखा प्रभारीहरूको प्रतिवेदन तथा सुझावहरूलाई गम्भीरतापूर्वक समीक्षा गर्दै संगठन विस्तारलाई अझ प्रभावकारी, गतिशील र जनमुखी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। अध्यक्ष गुरुङले संगठनलाई अझ मजबुत बनाउन आवश्यक निर्देशन, सुझाव तथा कार्यनीतिक मार्गदर्शन प्रदान गरे।
सभामा आगामी शहीद दिवसको तयारीबारे पनि विस्तृत छलफल भएको थियो। सर्वसम्मत निर्णयअनुसार यस वर्षको शहीद दिवस कार्यक्रम सादगीपूर्ण तर गरिमामय रूपमा सम्पन्न गर्ने निर्णय गरिएको छ। संगठनलाई थप सशक्त र सक्रिय बनाउने उद्देश्यले सञ्जीव गुरुङलाई समष्टि सांगठनिक सचिवको जिम्मेवारी प्रदान गरिएको छ। समष्टि अध्यक्ष जेबी गुरुङले खदामाला लगाई औपचारिक नियुक्तिपत्र हस्तान्तरण गर्दै उनलाई नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गरे। त्यसैगरी सपन राई तथा सुरज प्रधानलाई खदामाला लगाई समष्टि कोर कमिटीको सदस्यमा मनोनयन गरिएको छ। नवमनोनित पदाधिकारी तथा सदस्यहरूलाई संगठनको उद्देश्य र आदर्शअनुसार समर्पित भएर कार्य गर्न अध्यक्षले आग्रह गरे। सभामा जयराज थापाले शहीद दिवसको ऐतिहासिक महत्वमाथि प्रकाश पार्दै गोर्खा आन्दोलनका शहीदहरूको योगदानलाई सदैव सम्मानपूर्वक स्मरण गर्नुपर्ने धारणा व्यक्त गरे। अन्त्यमा सभाध्यक्ष जेबी गुरुङले आफ्नो समापन मन्तव्य राख्दै संगठनलाई थप सुदृढ, अनुशासित र जनआधारित बनाउन सबै कार्यकर्ताले एकताबद्ध भएर सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै उनले सभा समापन भएको घोषणा गरे। सभामा समष्टि मूल सचिव प्रमोद थापा, युवा एकाईका कार्यकारी सभापति अमित प्रधान, नरबुङ शाखा प्रभारी राजीव प्रधान, समष्टि उपसभापति विजय थापा, जोगमाया प्रभारी राजामान थापा, मिडिया प्रभारी सुमन गुरुङ, तीनधारे शाखा सभापति दिपेन गुरुङ, रमन थापा, रञ्जित सार्की, गोर्खा राष्ट्रिय नारी संगठनबाट अनिता तामाङ, शीला प्रधान, रेणु तामाङ तथा विभिन्न शाखाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाको सञ्चालन समष्टि प्रचार–प्रसार सचिव पूर्ण गुरुङले गरेका थिए।









