सडकको आक्रोश र मिडियाको साख: भारतीय सञ्चार क्षेत्रमा चुलियो ध्रुवीकरण र आन्तरिक घमसान

a95f0700-84aa-11f1-bf17-d1bdadb563b6.jpg

नयाँ दिल्ली: ​संसद भवनतर्फ अघि बढेको विशाल प्रदर्शन, हावामा उडिरहेका अश्रुग्यासका गोला र सडकमा आक्रोशित युवाहरूको भीड। सोमबार नयाँ दिल्लीको जन्तरमन्तर आसपासको दृश्य कुनै सामान्य विरोध प्रदर्शनको मात्र थिएन, भारतीय सञ्चारमाध्यमको पछिल्लो तस्बिर पनि थियो। ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले आयोजना गरेको ‘संसद मार्च’ का क्रममा प्रदर्शनकारीले केही मुख्यधाराका सञ्चारमाध्यम र पत्रकारविरुद्ध नाराबाजी गरेपछि अहिले भारतीय सञ्चार जगत्‌मा गम्भीर बहस सुरु भएको छ। अग्रपंक्तिमा खटिने रिपोर्टर र स्टुडियोमा बसेर एजेन्डा तय गर्ने सम्पादक वा एन्करबीचको रेखालाई भीडले कसरी हेर्छ अनि सञ्चारमाध्यममाथिको यो आक्रोश कति जायज वा जोखिमपूर्ण छ भन्ने प्रश्न खडा भएको छ।
​नेपालमा गत वर्ष भएको ‘जेन-जी’ आन्दोलनका क्रममा कान्तिपुर कार्यालयमा भएको आगजनी होस् वा बङ्गलादेशको ‘द डेली स्टार’ माथिको आक्रमण—दक्षिण एसियाली मुलुकहरूमा राजनीतिक र सामाजिक असन्तोषको पारो तातिँदा सञ्चारगृह निशानामा पर्नु अब नयाँ विषय रहेन। दिल्लीको जन्तरमन्तरमा दोहोरिएको दृश्यले यही प्रवृत्ति भारतमा पनि तीव्र रूपमा भित्रिएको पुष्टि गर्छ। प्रदर्शनको समाचार सङ्कलनमा खटिएका ग्राउन्ड रिपोर्टरहरू निशानामा परेपछि भारतीय पत्रकारिता दुई कित्तामा विभाजित देखिएको छ।
​पत्रकार पूनम पाण्डेले सामाजिक सञ्जालमा मिडियासँग असन्तुष्टि हुन सक्ने भए पनि कडा घाम र वर्षा नभनी सडकमा खटिने ग्राउन्ड रिपोर्टरलाई लक्षित गर्नु गलत भएको र आक्रोश सही ठाउँमा पोखिनुपर्ने धारणा राखिन्। तर अङ्ग्रेजी दैनिक ‘द हिन्दू’की डेपुटी एडिटर विजेता सिंहले टेलिभिजनमा घृणा फैलाउने वरिष्ठ एन्कर र सडकमा मेहनत गर्ने ग्राउन्ड रिपोर्टरबीच भिन्नता छुट्याउनुपर्ने बहस अघि सारिन्। सिंहको यो भनाइको प्रतिवाद गर्दै ‘द प्रिन्ट’का संस्थापक तथा वरिष्ठ पत्रकार शेखर गुप्ताले कुन पत्रकारलाई माया गर्ने र कसलाई घृणा गर्ने भन्ने निर्णय भीडको हातमा छाड्न नसकिने तर्क गरे। वरिष्ठ होस् वा जुनियर, काम गर्दा प्रत्येक पत्रकार सुरक्षित हुनुपर्ने र एउटा भीडका लागि जो ‘नायक’ हो, अर्को भीडका लागि उही ‘खलनायक’ हुन सक्ने भन्दै उनले यस्तो प्रवृत्तिको सुरुवात सन् २०११ को अन्ना आन्दोलनबाटै भएको दाबी गरे।
​गुप्ताको तर्कसँग खोजमूलक न्यूज पोर्टल ‘अल्ट न्यूज’का सम्पादक प्रतीक सिन्हा भने सहमत छैनन्। सिन्हाले कुनै पनि सत्ता वा निरङ्कुश संयन्त्रको हिस्सा बनेर काम गर्ने व्यक्तिले त्यसको सामाजिक र नैतिक परिणाम भोग्नैपर्ने भन्दै प्रहरी जवानले लाठीचार्ज गर्दा उसलाई प्रश्न गर्नुपर्ने उदाहरण दिए। त्यस्तै ‘न्यूज लन्ड्री’का सह-संस्थापक अभिनन्दन सेखरी र वरिष्ठ पत्रकार अभिसार शर्माले पनि भारतीय मिडियाको वर्तमान स्थिति र सत्तासँगको निकटतालाई लिएर मुख्यधाराका सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्। अर्कोतर्फ, ‘आजतक’की राजनीतिक सम्पादक मौसमी सिंहले पत्रकारमाथि हुने जुनसुकै किसिमको हिंसा वा दुर्व्यवहार निन्दनीय हुने बताउँदै आफूले पनि विगतका आन्दोलनहरूमा धम्की र हातपातको सामना गर्नुपरेको तीतो अनुभव सेयर गरिन्।
​भारतमा पछिल्ला केही वर्षहरूमा मिडिया घरानाहरू स्पष्ट रूपमा ‘सत्ता समर्थक’ र ‘सत्ता विरोधी’ गरी दुई ध्रुवमा बाँडिएका छन्। विश्लेषकहरूका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा सञ्चारमाध्यम र पत्रकारहरूको पहुँच मन्त्रालयहरूमा सीमित गरिनु, बहसका नाममा टेलिभिजनमा हुने होहल्ला र सामाजिक सञ्जालको नकारात्मकताले गर्दा पत्रकारिताको साख खस्कँदै गएको छ। वरिष्ठ स्तम्भकार तवलीन सिंहले आजका तथाकथित स्वतन्त्र टिभी च्यानलहरू देखेर शर्म लाग्ने र उनीहरूले आफूलाई ‘सरकारी सञ्चारमाध्यम २.०’ घोषणा गरिदिए हुन्छ भन्दै आक्रोश पोखेकी छन्।
​जन्तरमन्तरको प्रदर्शनले नीट परीक्षाको धाँधली र शिक्षा मन्त्रीको राजीनामाको माग मात्र उठाएको छैन, यसले भारतीय लोकतन्त्रको चौथो अङ्ग भनिने सञ्चारमाध्यमभित्रको गहिरो सङ्कट र ध्रुवीकरणलाई पनि उदाङ्गो पारिदिएको छ। भीडले न्याय र सत्यको फैसला आफैँ गर्न खोज्नु जति खतरनाक छ, सञ्चारमाध्यमले आफ्नो निष्पक्षता गुमाएर सत्ताको गोटी बन्नु त्योभन्दा बढी घातक हो। नयाँ दिल्लीको सडकमा देखिएको यो घमसानले भारतीय मिडियालाई आत्मसमीक्षा गर्न गम्भीर मोडमा उभ्याइदिएको छ।

About Author

Advertisement