केन्द्रीय गृहमन्त्री शाह सिलगढीमा, उत्तर कन्यामा उच्चस्तरीय सुरक्षा बैठक बस्दै

FB_IMG_1784320955870

सिलगढी: भारतका केन्द्रीय गृहमन्त्री अमित शाह दुई दिने भ्रमणका क्रममा शुक्रबार राति सिलगढी आइपुगेका छन्। राष्ट्रिय सुरक्षा र सीमा व्यवस्थापनको समीक्षाका लागि हुन लागेको यस उच्चस्तरीय भ्रमणलाई लिएर यहाँको प्रशासनिक सचिवालय ‘उत्तर कन्या’ मा तयारी तीव्र पारिएको छ। भ्रमणकै सिलसिलामा उत्तर कन्या भवनको बाहिरी आवरण (नीलो र सेतो रङ) लाई बदलेर पहेँलो रङ लगाइएको छ।

​गृहमन्त्री शाह शुक्रबार राति बागडोग्रा विमानस्थल अवतरण गरेर सिधै कदमतालास्थित सीमा सुरक्षा बल (बीएसएफ) को फ्रन्टियर मुख्यालय पुगेका थिए। उनले शुक्रबारको रात सोही मुख्यालयमा बिताएका छन्।
​भ्रमण तालिका अनुसार गृहमन्त्री शाहले शनिबार बिहान भारत-बङ्गलादेश सीमा क्षेत्रको स्थलगत निरीक्षण गर्नेछन्। बीएसएफको सिमानाका (बीओपी) नम्बर १८ जुमागाछ क्षेत्रको भ्रमण गरी उनले त्यहाँ वृक्षारोपण गर्नुका साथै विभिन्न नयाँ परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणको मुख्य आकर्षण शनिबार दिउँसो २ बजेदेखि उत्तर कन्यामा सुरु हुने उच्चस्तरीय प्रशासनिक तथा सुरक्षा बैठक रहनेछ। उक्त बैठकमा उत्तर बंगालको सुरक्षा अवस्था, अन्तर्राष्ट्रिय सीमा सुरक्षा बलियो बनाउने उपाय र समग्र प्रशासनिक समन्वयका विषयमा गहन छलफल हुने बताइएको छ। गृहमन्त्रीको आगमनलाई लिएर उत्तर कन्या र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। शनिबारका सबै कार्यक्रम सम्पन्न गरी शाह राति नै कोलकाता प्रस्थान गर्नेछन्।

About Author

Advertisement