गान्तोक: सिक्किम कर्मचारी राज्य बीमा सोसाइटी (ईएसआईएस) को दोस्रो सञ्चालक समिति (गभर्निङ बडी) को बैठक शुक्रबार ताशिलिङ सचिवालयस्थित टिस्टा लाउन्जमा सम्पन्न भएको छ। राज्य सरकारका मुख्य सचिव एवं सोसाइटीका अध्यक्ष आर. तेलाङको अध्यक्षतामा बैठक बसेको हो।
बैठकमा श्रम विभागका सचिव एवं सोसाइटीका उपाध्यक्ष भीम थाताल, वित्त विभागका नियन्त्रक-सह-सचिव एमसीपी प्रधान, श्रम विभागका अतिरिक्त आयुक्त एवं ईएसआईएसका निर्देशक शिरोमणि न्यौपाने लगायत रोजगारदाता तथा कर्मचारीका प्रतिनिधिहरूको उपस्थिति थियो। यस्तै, ईएसआईसी नयाँ दिल्ली र क्षेत्रीय कार्यालयका पदाधिकारीहरू भर्चुअल माध्यमबाट सहभागी थिए।
बैठकमा ईएसआईएसका निर्देशक शिरोमणि न्यौपानेले बीमित व्यक्तिहरूको कल्याणका लागि हालसम्म चालिएका कदमहरू र औषधालयहरूमा भइरहेको बीमितहरूको दर्ता प्रक्रियाबारे जानकारी गराए। उनका अनुसार उपलब्ध तीनवटा औषधालयमध्ये तादोङ औषधालयमा सबैभन्दा बढी दर्ता रेकर्ड गरिएको छ।
सो अवसरमा अध्यक्ष तेलाङले बीमित कर्मचारीहरूलाई प्रदान गरिने सुविधाहरू, कर्मचारीका आवश्यकता र औषधालयहरूको व्यवस्थापन सम्बन्धी निर्णयहरू गर्दा ईएसआईसी ऐन, १९४८ को प्रावधान र निर्देशिकाहरूलाई कडाइका साथ पालना गर्न निर्देशन दिएका छन्।










