राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहने खेलकुद मन्त्री बस्नेतको भनाइ
गान्तोक: सिक्किम सरकारका खेलकुद तथा युवा मामिला मन्त्री राजु बस्नेतले शुक्रबार गान्तोकको एससी भवनमा आयोजित एक विशेष समारोहका बीच ‘उत्तर-पूर्वी राष्ट्रिय सेवा योजना (एनएसएस) महोत्सव २०२६’ को औपचारिक उद्घाटन गरेका छन्। पाँच दिनसम्म चल्ने यस महोत्सवको उद्घाटन सत्रमा खेलकुद मन्त्री बस्नेत मुख्य अतिथिका रूपमा उपस्थित थिए।
सो अवसरमा बोल्दै मन्त्री बस्नेतले एनएसएसको मूल आदर्श वाक्य “म होइन, तपाईं” (नॉट मी बट यू) को महत्वमाथि प्रकाश पार्दै यस अभियानले युवाहरूमा जिम्मेवारी, नेतृत्व र सेवाभावको भावना विकास गर्ने बताए। उनले देशको प्रगति युवाहरूको प्रतिबद्धता र सक्रिय सहभागितामा निर्भर रहने उल्लेख गर्दै उत्तर-पूर्वी क्षेत्रको सांस्कृतिक विविधतालाई ‘अष्टलक्ष्मी’ का रूपमा व्याख्या गरे।
महोत्सवको पहिलो दिन आठवटा उत्तर-पूर्वी राज्यहरू- अरुणाचल प्रदेश, असम, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, सिक्किम र त्रिपुराका युवा स्वयंसेवकहरूले आ-आफ्नो क्षेत्रको समृद्ध सांस्कृतिक परम्परा झल्काउने आकर्षक सांस्कृतिक प्रस्तुतीहरू प्रदर्शन गरेका थिए।
कार्यक्रममा खेलकुद विभागका सल्लाहकार विक्रम प्रधान, राज्य खेलकुद विकास बोर्डका अध्यक्ष रिन्जिङ डब्ल्यु चोफेल, युवा मामिला विभागकी सचिव याङचेन डी तामाङ लगायत केन्द्र तथा राज्य सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो।










