मतदाता नामावली परिमार्जनबारे छलफल
सोरेङ: सोरेङका जिल्लाधीश धीरज सुवेदीको अध्यक्षतामा जिल्ला प्रशासनिक केन्द्र (डीएसी) मा राजनीतिक दलका प्रतिनिधिहरूसँग साप्ताहिक बैठक सम्पन्न भएको छ। बैठकमा जिल्लाभरि चलिरहेको मतदाता नामावलीको विशेष सघन परिमार्जन (एसआईआर २०२६) सम्बन्धी विविध विषयमा गहन छलफल गरिएको थियो।
सो अवसरमा जिल्लाधीश सुवेदीले ‘नो म्यापिङ’ भएका मतदाता, विवरणमा त्रुटि भएका मतदाता, हालसम्म भएका र आगामी सुनुवाइको तालिकाका साथै विभिन्न फारमहरू (फारम ९, १०, ११, ११ए र ११बी) को विस्तृत तथ्याङ्क राजनीतिक दलका प्रतिनिधिहरू समक्ष प्रस्तुत गर्नुभएको थियो।
बैठकमा जिल्लाका चारवटै विधानसभा क्षेत्रका बुथ स्तरका अधिकारीहरू (बीएलओ) द्वारा मतदाताहरूको तस्बिरको गुणस्तर जाँच गर्ने कार्य पूर्ण रूपमा सम्पन्न भएको जानकारी दिइयो। यसैगरी ‘नो म्यापिङ’ सूचीमा रहेका मतदाताहरूका लागि साउन १ (जुलाई १६) देखि सुनुवाइ प्रक्रिया सुरु भइसकेको र उनीहरूलाई सूचना पठाउने कार्य जारी रहेको बताइएको छ। मतदाता विवरणमा रहेका तार्किक त्रुटिहरू सच्याउनका लागि बीएलओहरूले सम्बन्धित मतदाताको मन्जुरीनामा र आवश्यक कागजातहरू प्रणालीमा अपलोड गर्न सक्ने व्यवस्था मिलाइएको छ। बैठकमा अतिरिक्त जिल्लाधीश डी.आर. बिष्ट, महकुमा अधिकारीहरू (एसडीएम) प्रेम के. सुब्बा, साक्चम लेप्चा, डी.एन. शर्मा, सहायक निर्वाचन निर्देशक एम.के. गुरुङ र भाजपा तथा एसकेएम लगायतका राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो।










