युवालाई आत्मनिर्भर बनाउन सोरेङमा करियर काउन्सिलिङ तथा परिचालन कार्यक्रम सम्पन्न

FB_IMG_1784302381775

सोरेङ: सिक्किम सरकारको सीप विकास विभाग अन्तर्गत राज्य क्षमता निर्माण संस्थान (एसआईसीबी) र सोरेङ जिल्ला प्रशासनिक केन्द्रको संयुक्त तत्वावधानमा शुक्रबार सोरेङको रुरबन कम्प्लेक्समा एक दिवसीय करियर काउन्सिलिङ तथा परिचालन कार्यक्रम सम्पन्न भएको छ। ‘सिक्किम इन्स्पायर्स’ पहल अन्तर्गत आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय युवाहरूलाई सीप विकास, स्वरोजगार, रोजगारीका अवसरहरू र उद्यमशीलतासम्बन्धी सरकारी योजनाहरूबारे जागरूक गराउनु रहेको थियो। कार्यक्रमको सुरुवात गर्दै सहायक निर्देशक कुसुम प्रधानले उपस्थित युवा तथा विद्यार्थीहरूलाई आफ्नो रुचि अनुसारको क्षेत्र रोजेर भविष्य निर्माण गर्न आग्रह गर्नुभयो।
​कार्यक्रममा एसआईसीबीका परियोजना अधिकारी अरुण मुखियाले सीप विकास विभागद्वारा सञ्चालित विभिन्न तालिमहरू र ‘सिक्किम इन्स्पायर्स’ योजनाबारे विस्तृत जानकारी दिनुभयो। विशेषगरी महिला, युवा र शिक्षा वा रोजगारीबाट टाढा रहेका वर्गलाई लक्षित गरी स्थानीय बजारको माग अनुरूप तालिम दिइने उहाँले प्रष्ट पार्नुभयो। अर्का परियोजना अधिकारी अनिल शर्माले भारत सरकारको ‘दीनदयाल उपाध्याय ग्रामीण कौशल योजना’ (डिडियु-जीकेवाई) अन्तर्गत निशुल्क उपलब्ध हुने औद्योगिक तालिम र रोजगारीको अवसरबारे प्रकाश पार्नुभयो । यस्तै, परामर्शदाता आकांक्षा गुप्ताले ‘सिक्किम इन्स्पायर्स’ अन्तर्गत १८ देखि ३५ वर्ष उमेर समूहका युवाका लागि उपलब्ध तालिमबारे जानकारी गराउनुभयो भने युवा व्यावसायिक सुधम शर्माले राष्ट्रिय करियर सेवा (एनसीएस) पोर्टल र जोरेथाङस्थित मोडल करियर सेन्टरका सुविधाहरूबारे सचेत गराउनुभयो।
​सो अवसरमा बोल्दै औद्योगिक प्रशिक्षण संस्थान (आईटीआई) का प्रधानाचार्य एम.एन. भोटियाले प्राविधिक तथा व्यावसायिक शिक्षाको बढ्दो मागमाथि जोड दिँदै १४ वर्ष उमेर पूरा भएका इच्छुक युवाहरूलाई आईटीआईका विभिन्न कोर्षहरूमा भर्ना हुन प्रोत्साहित गर्नुभयो। जिल्ला बाल संरक्षण अधिकारी टी.एम. शर्माले यो उपयोगी कार्यक्रम आयोजना गरेकोमा आयोजक टोलीलाई धन्यवाद ज्ञापन गर्दै बालबालिका तथा युवाहरूलाई यसको भरपुर फाइदा उठाउन आग्रह गर्नुभयो।
कार्यक्रमको अन्त्यमा खुला छलफल तथा अन्तरक्रिया सत्र आयोजना गरिएको थियो, जहाँ विद्यार्थीहरूले स्रोत व्यक्तिहरूबाट करियरसम्बन्धी व्यक्तिगत परामर्श र मार्गदर्शन प्राप्त गरे। कार्यक्रममा एसआईसीबीका राज्य कार्यक्रम प्रबन्धक प्रवीन बस्नेतसहित विभिन्न बाल गृहका सञ्चालक तथा बालबालिकाहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement