साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेमा २१२औं भानु जयन्ती समारोह सम्पन्न

IMG-20260713-WA0096

खरसाङ: साहित्य कला संस्थान तीनधारेको आयोजनामा आदि कवि भानुभक्त आचार्यको २१२औं जन्म जयन्ती समारोह तीनधारेमा आयोजना गरिएको छ। कार्यक्रमको पूर्वार्ध्दमा तीनधारेको चिल्ड्रेन पार्क परिसरमा रहेको आदि कवि भानुभक्त आचार्यको सालिगमा श्रध्दाञ्जली अर्पण गर्दै साहित्य कला संस्थान तीनधारेका पदाधिकारीहरु र सदस्यहरुले आदि कवि भानुभक्त आचार्यलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। उत्तरार्ध्दको कार्यक्रम महात्मा गान्धी हलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा सभाध्यक्षको रुपमा साहित्य कला संस्थान तीनधारेका सभापति रञ्जनकुमार रसाइली अनि प्रमुख अतिथिको रुपमा तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान शिक्षिका उर्मिला लामा उपस्थित रहेकी थिइन्। गीतकार सुकुमार बराईलीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण साहित्य कला संस्थान तीनधारेका सचिव सन्तोष लामाले राखेका थिए। अतिथिहरुको बाहुलीबाट आदि कवि भानुभक्त आचार्यको प्रतिकृतिमा धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा आदि कवि भानुभक्त आचार्यको जीवनी बरुण रसाइलीले राखेका थिए।‌ कार्यक्रममा रामायण पाठ तीनधारे गैरी गाउँका नवराज राई र समूहले गरका थिए। कार्यक्रममा साहित्य कला संस्थानको तर्फबाट पूर्व सभासद एंव पूर्व फुटबल खेलाडी नवराज छेत्री र नवराज राई कृतज्ञता ज्ञापन गर्दै खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा तीनधारे र घैयाबारी क्षेत्रका विद्यालयहरु क्रमैले तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय, रेणुका कन्या उच्च विद्यालय, ब्लु डायमण्ड अंग्रेजी स्कूल घैयाबारी आदिका विद्यार्थीहरुले कविता, गीत, लोक नृत्य प्रस्तुत गरेका थिए भने तीनधारे चियाबारीका सक्षम मंगरले लोक गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा आयोजक समितिको तर्फबाट सहभागी विद्यालय र विद्यार्थीहरुलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान शिक्षिका उर्मिला लामाले‌ आफ्नो सम्बोधनमा नेपाली साहित्यमा आदि कवि भानुभक्त आचार्यको बहुमूल्य योगदान रहेको र उनको छुट्टै स्थान रहेको‌ बताइन्। उनले आदि कवि भानुभक्त आचार्य कवि मात्र नभएर नेपाली भाषा साहित्य र राष्ट्रिय चेतनाका अभियन्ता थिए भनी बताएकी छन्‌। उर्मिला लामाले‌ विद्यार्थीहरुलाई सम्बोधन गर्दै भनिन् -‘आज भानु जयन्ती पालन गरेर भोलिदेखि भानुभक्तलाई बिर्सेर हुँदैन। तर आफ्नो भाषा, संस्कृति र साहित्यको संरक्षण गर्न सिक्नुपर्छ। आजको युगमा विद्यार्थीहरुले आधुनिक तक्निकी शिक्षासितै आफ्नो भाषा, साहित्य र संस्कृतिप्रति रूचि राख्नुपर्छ।‌ पुस्तक पढ्न लेख्ने र सिर्जनशील बन्ने बानी बसाल्नुपर्छ।’

कार्यक्रममा सभाध्यक्ष रञ्जनकुमार रसाइलीले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन साहित्य कला संस्थान तीनधारेका सह सचिव उत्तम शर्माले राखेका थिए। कार्यक्रमपछि पत्रकारहरुलाई सम्बोधन गर्दै तीनधारेमा आयोजित २१२औं भानु जयन्ती समारोह विषयमा पत्रकारहरुसित कुराकानी गर्दै साहित्य कला संस्थान तीनधारेका सचिव सन्तोष लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement