अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता सम्पन्न
खरसाङ: गोर्खा जनपुस्तकालय खरसाङ र सूचना अनि सांस्कृतिक विभाग खरसाङ महकुमा पश्चिम बंगाल सरकारको संयुक्त आयोजनामा खरसाङमा २१२औं भानु जयन्ती समारोह सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत पूर्वार्ध्दमा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा आदि कवि भानुभक्त आचार्यको सालिगमा श्रध्दाञ्जली अर्पण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरु र साहित्यकारहरु,शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुद्वारा आदि कवि भानुभक्त आचार्यको सालिगमा श्रध्दाञ्जली अर्पण गरिएको छ।

कार्यक्रमको उत्तरार्द्धमा पार्क लोकेशनस्थित सामुदायिक भवनमा २१२औं भानु जयन्ती समारोह साथै अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता पुस्तकालयको अध्यक्ष रबीनकुमार प्रधानले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङका विधायक आफ्नो व्यस्तताले अनुपस्थित रहेका थिए। विशिष्ट अतिथिहरुमा खरसाङ महकुमा शासक प्रिया यादव, खरसाङ महाविद्यालयका प्राचार्य डा समीर बल, वरिष्ठ साहित्यकार पूर्ण गुरुङ ‘निरुपम’, शताब्दी पुरुष डीएस दर्नाल, विधायकका प्रतिनिधि आरबी लामा लगायत साहित्यकारहरु, विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरुद उपस्थित रहेका थिए। अतिथिहरुको बाहुलीबाट आदि कवि भानुभक्त आचार्यको तस्वीरमा धुप दीप प्रज्वलन गरेर थालिएको कार्यक्रममा स्वागत सम्भाषण अन्तर्गत सूचना अनि सांस्कृतिक विभागको तर्फबाट दिपक कर्माकार र पुस्तकालयको तर्फबाट सचिव विनोद रसाइलीले राखेका थिए।कार्यक्रममालाई शिक्षिका गोमा सुब्बाद्वारा सञ्चालन गरिएको थियो। विशेष गरेर कतारका सेख -‘सेख हमदबीन खालिफ अल थानीको निधनमा भारतमा राष्ट्रिय शोक मनाईरहेकोले उनको निधनमा एक मिनटको मौन धारण गरेर श्रध्दाञ्जली अर्पण गर्नुको साथै कार्यक्रममा गीत र नृत्य जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएन। यसै कार्यक्रममा आदि कवि भानुभक्त आचार्यमाथि खरसाङ महाविद्यालयका प्राचार्य डा. समीर बल र नारी स्रष्टा उषाकिरण सत्यदर्शीले वार्ता प्रस्तुत गरेका थिए। त्यसरी नै कार्यक्रममा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता आयोजना गरिएको थियो। जसमा प्रथम सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालय, दोस्रो सन्त अलफन्सस् उच्चतर माध्यमिक विद्यालय, तेस्रो सन्त जेभियर्स उच्चतर माध्यमिक विद्यालय र
चौथो पुष्परानी रोय मेमोरियल उच्चतर माध्यमिक विद्यालय बनेका छन्। यस अन्तर विद्यालय रामायण पाठ प्रतियोगितामा निर्णायकको भूमिकामा साहित्यकार उषाकिरण सत्यदर्शी, लोक गायिका सुचिता खाती र युवा स्रष्टा सञ्जीव छेत्री साथै समय सचेतकको रुपमा पारसचन्द्र आले उपस्थित रहेका थिए।

कार्यक्रममा गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट खरसाङका विधायकलाई प्रदान गरिएको सम्मान उनको अनुपस्थितिमा उनको प्रतिनिधि आरबी लामालाई प्रदान गरिएको छ। उक्त सम्मान अन्तर्गत खदार्पणसहित जातीय टोपी र सम्वर्ध्दना पत्र विधायकका प्रतिनिधि आरबी लामालाई हस्तान्तरण गरिएको छ। खरसाङमा आयोजित २१२औं भानु जयन्ती समारोह बिषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोर्खा जनपुस्तकालय खरसाङको मूल सचिव विनोद रसाइलीले विस्तृत रुपमा जानकारी गराएका छन्।









