भारतीय सर्वोच्च अदालतमा भुटानका दुई ल क्लर्क नियुक्त, प्रधानन्यायाधीश सूर्यकान्तद्वारा स्वागत​

supreme court india usa

नयाँ दिल्ली: ​भारत र भुटानबीचको न्यायिक तथा शैक्षिक सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यका साथ भुटानका दुई युवा कानून व्यवसायी (ल प्रोफेशनल्स) भारतीय सर्वोच्च अदालतमा ‘ल क्लर्क’ को रूपमा नियुक्त भएका छन्। भुटानको सर्वोच्च अदालतसँग भएको द्विपक्षीय समझदारी पत्र (एमओयू) अन्तर्गत नियुक्त भएका ती दुवै होनहार युवाहरूले सोमवारदेखि भारतीय सर्वोच्च अदालतमा आफ्नो कार्यभार सम्हालेका हुन्। यस ऐतिहासिक अवसरमा भारतका प्रधानन्यायाधीश (सीजेआई) सूर्यकान्तले दुवै भुटानी ल क्लर्कहरूलाई स्वागत गर्दै यो कदम दुई देशबीचको न्यायिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने एउटा महत्त्वपूर्ण पहल भएको बताउनुभयो। प्रधानन्यायाधीशका अनुसार यी दुवै क्लर्कहरूले आगामी तीन महिनासम्म सर्वोच्च अदालतका छुट्टाछुट्टै इजलासमा रहेर आफ्नो सेवा प्रदान गर्नेछन् र उनीहरूलाई भारतीय ल क्लर्क सरह नै पारिश्रमिक (मानदेय) उपलब्ध गराइनेछ भने उनीहरूको सम्पूर्ण यात्रा खर्च समेत भारतीय सर्वोच्च अदालतले नै ब्यहोर्नेछ।
​दुई देशका सर्वोच्च अदालतबीच युवा जनशक्ति आदानप्रदान गर्ने यो प्रक्रियाको घोषणा गत वर्षको अक्टोबर महिनामा तत्कालीन प्रधानन्यायाधीश बी. आर. गवईले भुटानको ‘जिग्मे सिंगे वाङ्गचुक स्कूल अफ ल’ को भ्रमणका क्रममा गर्नुभएको थियो। सोही घोषणा अनुरूप प्रत्येक वर्ष भुटानका दुई जना कानुन स्नातक (ल ग्र्याजुएट) लाई भारतीय सर्वोच्च अदालतमा कार्य अनुभवका लागि चयन गर्न थालिएको हो। भारतले न्यायिक क्षेत्रमा भुटानलाई निरन्तर सहयोग गर्दै आएको सन्दर्भमा यसै वर्षको मार्च ५ मा प्रधानन्यायाधीश सूर्यकान्त आफैंले भुटानको औपचारिक भ्रमण गरी त्यहाँका राजासँग भेटवार्ता गर्नुभएको थियो। सो भ्रमणका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले भुटानको न्यायिक प्रक्रियालाई पूर्ण रूपमा डिजिटलाइज्ड (प्रविधिमैत्री) बनाउनका लागि भारत सरकार र न्यायलयका तर्फबाट सम्भव भएसम्मको प्राविधिक एवं संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।

About Author

Advertisement