जलपाइगुढी: आगामी श्रावणी मेलाको तयारीको निरीक्षण गर्न पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीको एक विशेष प्रतिनिधिमण्डलले शुक्रबार जलपाइगुढीस्थित ऐतिहासिक जलपेश मन्दिरको भ्रमण गरेको छ।
उत्तर बङ्गालकै प्रमुख परम्परागत मेलाहरूमध्ये एक मानिने श्रावणी मेला यस वर्ष आगामी १९ जुलाईदेखि जलपेश मन्दिरमा सुरु हुँदैछ। मेलाका दौरान प्रत्येक वर्ष हजारौँको सङ्ख्यामा आउने भक्तजनहरूले टिस्टा नदीका विभिन्न घाटहरूबाट पवित्र जल संकलन गरी मन्दिरमा अवस्थित बाबा जलपेश्श्वरलाई अर्पण गर्ने गर्दछन्।
मेलालाई व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्य सरकारले अहिलेदेखि नै तयारी तीव्र पारेको छ। मुख्यमन्त्रीको प्रतिनिधिमण्डलले जिल्ला प्रशासनका उच्च अधिकारी, प्रहरी प्रशासन, स्थानीय विधायक तथा जनप्रतिनिधिहरूसहित मन्दिर परिसर र मेला लाग्ने विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेको हो।
प्रशासनिक स्रोतका अनुसार मेला अवधिभर भक्तजनहरूलाई कुनै पनि किसिमको असुविधा नहोस् भन्नका लागि सुरक्षा, खानेपानी, स्वास्थ्य तथा यातायातलगायतका सम्पूर्ण आवश्यक प्रबन्धहरू मिलाइनेछ।











