ईटानगर: अरुणाचल प्रदेशकी प्रतिभावान खेलाडी रूपा बायरले महाराष्ट्रको पुणेस्थित बालेवाडी स्टेडियममा सम्पन्न ‘पाँचौँ सिनियर तेक्वान्दो पुम्से राष्ट्रिय च्याम्पियनसिप २०२६’ मा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी छन्। उनले ‘अण्डर-३० रिकग्नाइज्ड पुम्से’ विधामा उक्त सफलता हात पारेकी हुन्।यस सानदार जितसँगै रूपाले कोरियामा आयोजना हुने ‘२०२६ वर्ल्ड तेक्वान्दो पुम्से च्याम्पियनसिप’ मा भारतको प्रतिनिधित्व गर्ने योग्यतासमेत हासिल गरेकी छन्।रूपाको यस ऐतिहासिक उपलब्धिप्रति अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा खेलाडी रूपाको तस्बिर सेयर गर्दै मुख्यमन्त्री खाण्डुले उनको प्रशंसा गरेका हुन्। “पाँचौँ सिनियर तेक्वान्दो पुम्से राष्ट्रिय च्याम्पियनसिप २०२६ मा स्वर्ण पदक जित्न सफल हुनुभएकोमा मिस रूपा बायरलाई हार्दिक बधाई! यस सानदार जितसँगै उहाँले कोरियामा हुने विश्व तेक्वान्दो पुम्से च्याम्पियनसिपमा भारतको प्रतिनिधित्व गर्ने योग्यता प्राप्त गर्नुभएको छ। म रूपालाई विश्व च्याम्पियनसिपका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,” मुख्यमन्त्री खाण्डुले फेसबुकमा लेखेका छन्। राष्ट्रिय मञ्चमा स्वर्ण पदक जितेर राज्यको नाम रोशन गरेकी रूपाले अब विश्व च्याम्पियनसिपमा पनि भारत र अरुणाचल प्रदेशको झण्डा फहराउने विश्वास लिइएको छ।









