सोनादा: दार्जिलिङ पहाडका श्रमिक तथा सर्वसाधारण जनताको हितका विषयमा निरन्तर आवाज उठाउँदै आएका भारतीय जनता पार्टीको भातृ संगठन भारतीय मजदुर संघका दार्जिलिङ जिल्ला महासचिव तथा सोनादा क्षेत्रका बासिन्दा प्रणय शेर्पाले यसपटक पहाडको आवासीय समस्यालाई प्रमुख मुद्दाका रूपमा सरकारसमक्ष उठाएको बताएका छन्। उनले दार्जिलिङ पहाडका धेरै परिवार आज पनि कच्ची तथा अर्धकच्ची घरमा बस्न बाध्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री आवास योजना अन्तर्गत योग्य कुनै पनि परिवार योजनाको लाभबाट वञ्चित हुनु नहुने स्पष्ट धारणा व्यक्त गरेका छन्। वास्तविक लाभग्राहीको पहिचान गरी प्रत्येक योग्य परिवारसम्म योजनाको सुविधा पुग्नु नै सरकारको प्राथमिकता हुनुपर्ने उनको भनाइ रहेको छ।
यसका साथै रंगमुक क्षेत्रमा धेरै वर्षअघि जोहन्सन जाबरी साहेबको कार्यकालमा निर्माण गरिएको ठूलो आवासीय भवन, जहाँ आज पनि धेरै परिवार बसोबास गर्दै आएका छन्, त्यसको अवस्था अहिले अत्यन्त जीर्ण र जोखिमपूर्ण बनेको भन्दै उक्त भवनको शीघ्र मर्मत तथा पुनःसंरचनाका लागि सम्बन्धित सरकारको ध्यानाकर्षण गराएका छन्। यस्तो भवनमा बसोबास गर्ने नागरिकहरूको सुरक्षालाई ध्यानमा राखी तत्काल आवश्यक कदम चालिनुपर्ने उनले जोड दिएका छन्। प्रणय शेर्पाले सुरक्षित आवास प्रत्येक नागरिकको मौलिक आवश्यकता भएको उल्लेख गर्दै विकासका योजनाहरू कागजमा मात्र सीमित नभई वास्तविक रूपमा जनतासम्म पुग्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। उनी अनुसार दार्जिलिङ पहाडका श्रमिक, गरीब तथा विपन्न परिवारको जीवनस्तर सुधार गर्न आवासीय योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनु अत्यन्त आवश्यक छ। यस अवसरमा उनले दार्जिलिङका सांसद राजु विष्टप्रति विशेष धन्यवाद व्यक्त गर्दै केन्द्र सरकारका विभिन्न विकासमुखी योजनाहरू पहाडसम्म पुर्याउन उनले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गरेका छन्। सांसद राजु विष्टको निरन्तर पहलका कारण दार्जिलिङ पहाडमा विकासले नयाँ गति लिएको र जनतामा सकारात्मक आशा जागेको उनले बताए। स्थानीयवासीहरूका अनुसार भारतीय मजदुर संघ जिल्ला महासचिव प्रणय शेर्पाले श्रमिकको हक हितदेखि लिएर स्थानीय विकास, आधारभूत पूर्वाधार र जनजीविकासँग सम्बन्धित विषयहरू निरन्तर रूपमा सम्बन्धित निकायसमक्ष उठाउँदै आएका छन्। उनको सक्रिय पहलले पहाडका जनताको आवाज सरकारसम्म पुर्याउने कामलाई थप बल पुगेको विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्।










